काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ। मंगलबार जारी स्पष्टीकरण पत्रमा उनलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ।

ऊर्जा मन्त्री दीपक खड्काको मन्त्रीस्तरीय निर्णयअनुसार जारी उक्त पत्रमा घिसिङका आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदासम्बन्धी विषयमा प्रश्न उठाइएको छ। मन्त्रालयले विशेषगरी अन्तर्राष्ट्रिय भ्रमणका क्रममा आवश्यक स्वीकृति लिएको नलिएको विषयमा स्पष्टीकरण मागेको छ।

पत्रमा उल्लेख गरिएअनुसार, नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा सहभागी हुन १२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्ली गएका घिसिङले सो यात्राका लागि सञ्चालक समितिबाट स्वीकृति लिएको वा नलिएको विषयमा प्रश्न गरिएको छ। त्यस्तै, उनले मन्त्रालयको पूर्वस्वीकृति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्तामार्फत सहमति पत्रमा हस्ताक्षर गर्न कसरी अख्तियार पाए? भन्ने विषयमा समेत स्पष्टीकरण मागिएको छ।

यसअघि पुस २२ र पुस २८ गते गरी दुईपटक सोधिएका स्पष्टीकरणमा घिसिङले दिएका जवाफ चित्तबुझ्दो र वस्तुगत नभएको मन्त्रालयको दाबी छ। यसै सन्दर्भमा तेस्रो पटक सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ, “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने?”

मन्त्रालयको २०८१ फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार, कुलमान घिसिङलाई २४ घण्टाभित्र यथासक्य स्पष्ट र प्रमाणसहितको लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ।

 

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com