काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुमा शिक्षण प्रणाली र शिक्षकहरूको भूमिकालाई प्रमुख कारणका रूपमा औंल्याएका छन्।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावकारी शिक्षण प्रविधि अवलम्बन गर्न नसक्ने शिक्षकहरूको तलब वृद्धि गर्न नसकिने स्पष्ट पारे। उनले विद्यार्थीलाई बुझाएर पढाउन असमर्थ शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नहुने बताए।
प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीकरण गर्ने सोच छैन, तर शिक्षा क्षेत्र कुनै खेलबाड गर्ने थलो होइन। एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु आपत्तिजनक छ, यस्तो प्रणालीलाई सुधार्न आवश्यक छ।”
उनले देश हालसालै अँध्यारो युगबाट उज्यालो युगतर्फ प्रवेश गरिसकेको उल्लेख गर्दै युवाहरू निराश हुनुपर्ने कुनै कारण नभएको बताए। मुलुक तीव्र विकासको मार्गमा अघि बढिरहेकाले सरकारप्रति नकारात्मक धारणा बनाउन नहुने उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सरकार योजनाबद्ध रूपमा देश विकास गरिरहेको स्पष्ट पार्दै जनताको समेत सहयोग अपरिहार्य रहेकोमा जोड दिए।
उनले थपे, “सरकारले आर्थिक अभाव भएका नागरिकलाई सहायता गर्नुपर्छ, तर तिर्न सक्ने विद्यार्थीलाई अनावश्यक छात्रवृत्तिको सुविधा दिनु उचित हुँदैन। स्वदेशी तथा विदेशी विद्यार्थीहरूका लागि सरकारी तथा निजी शिक्षण संस्थाहरूमा आवश्यक पूर्वाधार र सीटको व्यवस्था गर्दै उच्च शिक्षा अध्ययनको वातावरण बनाउनुपर्छ।”
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
प्रतिक्रिया