काठमाडौं — समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई परास्त गर्न भन्दै सम्पूर्ण देशभक्त एवं गणतन्त्रवादी शक्तिहरूलाई एकताबद्ध हुन अपील गरेको छ। यही चैत १५ गते, शुक्रबार काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्दै जनसभा गर्ने मोर्चाको घोषणा छ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण तथा जनअधिकार सुनिश्चित गर्न संघर्षको तयारी गरिरहेको जानकारी दिए। “देशमा व्याप्त भ्रष्टाचार, कमिशनखोरी, कालोबजारी तथा सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध सशक्त प्रतिरोध गर्नु आवश्यक छ,” उनले भने।
सरकारको आलोचना, लोकतान्त्रिक मूल्य उल्लङ्घनको आरोप
मोर्चाले राज्यसत्तामा रहेका शासकहरू अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै नागरिक अधिकार कुण्ठित गर्न उद्धत रहेको आरोप लगाएको छ। नेता विश्वकर्माले सरकार विचौलिया र दलालहरूको प्रभावमा रहेर संसदलाई निष्क्रिय बनाउने, जनपक्षीय विधेयकहरूलाई रोक्ने तथा अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिलाई प्रश्रय दिइरहेको बताए।
उनले वर्तमान सरकारको कुशासनका कारण अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको र आम नागरिकको जीवनयापन अत्यन्त कष्टकर बनेको उल्लेख गरे। “भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र जर्जर बनाएको छ, जनताको जनजीविका भयावह बन्दै गएको छ,” उनले चिन्ता व्यक्त गरे।
सम्भावित व्यवस्था परिवर्तन विरुद्ध एकताकाे अपील
नेता विश्वकर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा नेपाली जनताको समाजवादी यात्रालाई सुनिश्चित गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू, नागरिक समाज, बुद्धिजीवी, तथा सचेत समुदायहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले भने, “प्रतिगमन र पुनःउत्थानवादी शक्तिहरूको षड्यन्त्रविरुद्ध एकजुट भई सङ्घर्ष गर्न समाजवादी मोर्चाले दृढ प्रतिबद्धता व्यक्त गर्छ।”
मोर्चाले संसदभित्र तथा बाहिर रहेका प्रगतिशील शक्तिहरूसँग सहकार्य गर्दै राष्ट्रिय स्वाधीनता र गणतन्त्रको पक्षमा व्यापक जनमत निर्माण गर्ने तथा संघर्षको नेतृत्व गर्ने जिम्मेवारी बहन गर्ने घोषणा गरेको छ।
चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन
यसै सन्दर्भमा २०८१ चैत १५ गते (शुक्रबार) काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ। समाजवादी मोर्चाले देशभरका सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूलाई विरोध प्रदर्शनमा सहभागी भई प्रतिगमनकारी तत्वहरूको षड्यन्त्रलाई असफल बनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार
प्रतिक्रिया