काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘महिला नेतृत्व सम्मेलन २०२५’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलालाई नेपाली परम्परा र संस्कृतिले देवीसरह सम्मान गर्दै परिवर्तनशील शक्ति रूपमा चित्रण गरेको उल्लेख गरे। उनले समान सहभागिता नै समृद्धिको आधार हुने भएकाले महिलाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।
समान सहभागिता बिना समृद्धि असम्भव
प्रधानमन्त्री ओलीले समाज र राष्ट्रलाई अघि बढाउन महिला र पुरुषको समान सहभागिता अनिवार्य हुने भन्दै उदाहरण स्वरूप भने, “रथको एउटा पांग्रो मात्रै घुमेर यात्रा सम्भव छैन। समाजलाई अघि बढाउन दुवै पांग्रो सँगसँगै चल्नुपर्छ।” उनले सामाजिक न्याय, समानता र गरिबी निवारणका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको र सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए।
महिलाको बढ्दो राजनीतिक उपस्थिति तर अझै थप आवश्यक
प्रधानमन्त्री ओलीले राष्ट्रपति, प्रधानन्यायाधीश लगायत उच्च पदमा महिलाको नेतृत्व स्थापित हुनु खुशीको कुरा भए पनि मात्र त्यसैमा सन्तुष्ट भएर नबस्नुपर्ने बताए। “हामीले शिक्षा, उद्यमशीलता, रोजगारी जस्ता क्षेत्रमा पनि महिलाको अगाडि बढाउने वातावरण बनाउनुपर्छ,” उनले जोड दिए।
लोकतन्त्र राजमार्ग हो, ब्याक गेयर लाग्दैन
प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सुशासन र आर्थिक विकासलाई अघि बढाइरहेको स्पष्ट गरे। “हामी अगाडि बढ्नुपर्छ, पछाडि फर्किनु हुँदैन। ब्याक गेयर त मोडमा मात्रै लगाइन्छ, राजमार्गमा होइन। लोकतन्त्र नै हाम्रो राजमार्ग हो,” उनले भने।
नीति सुधारका लागि सुझाव संकलन गरिने प्रतिबद्धता
प्रधानमन्त्री ओलीले कानुन विकासमा बाधक होइन, सहायक हुनुपर्छ भन्ने धारणा राख्दै सम्मेलनबाट आएका सुझावलाई सरकारका नीति, नियम र व्यवहार सुधार्न उपयोग गरिने बताए।
निजी क्षेत्रसँग सहकार्य गर्दै औद्योगिकरणलाई गति दिने योजना
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए। उनले सरकारी निकायमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने नीति लागु गरिएको बताए।
राष्ट्रिय खेलाडी र अभियन्तालाई सम्मान
कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई विशेष सम्मान प्रदान गरेका थिए।
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया