काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

उनले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका छन् । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न तेर्साए ।

Advertisement

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाए ।उनले भने,‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए ।

राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ । उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्डपनि याद गराए । उनले प्रविन गुरुङको हत्या भएको प्रसंग पनि निकाले । उनले नेपाली जनतालाई राजतन्त्र नचाहिएको दाबी गरे । उनले भने,‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन् । त्यो विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन् । राजतन्त्र भनेको विशेषाधिकार हो । संसारको प्रवाह भनेको गणतन्त्र हो ।’

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com