काठमाडौं – चिकित्सा व्यवसायी दुर्गा प्रसाईंले आउँदो चैत्र १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अब निर्णायक समय आइसकेको छ, सबै तयार रहौँ’ भनी आव्हान गर्दै आन्दोलनको तयारीमा जुट्न आग्रह गरेका छन्।
प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत सम्पूर्ण पीडित, उत्पीडित, राष्ट्रवादी नागरिक, र अन्यायको सामना गरिरहेका वर्गहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन्। उनले लेखेका छन्—”अब निर्णायक समय आएको छ। देश बेच्नेहरूसँग लड्ने समय आइसक्यो। यही चैत्र १५ गते राष्ट्रभक्तिको शक्ति प्रदर्शन गर्नेछौं।”
प्रसाईंले राजसंस्था पुनःस्थापना चाहने राजनीतिक दलहरू, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा आन्दोलनमा सहानुभूति राख्ने सबै शक्तिलाई काठमाडौं केन्द्रित आन्दोलनको तयारी गर्न आग्रह गरेका छन्। उनले काठमाडौं, ललितपुर, र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न निर्देशन दिँदै आन्दोलनको मोडालिटी चाँडै सार्वजनिक गर्ने बताएका छन्।
उनि लेख्छन् —”१५ गतेको लागि तयार रहनुहोस्। हामीले लड्नु छ देश बेचुवाहरूका दलालहरूसँग, बचाउनु छ हाम्रो गौरवशाली नेपाललाई।”
प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार
प्रतिक्रिया