काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालमा अहिले पनि लोडसेडिङको जोखिम यथावत रहेको बताएका छन्।

बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले अब घरघरमै लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन्। साथै, उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कटाक्ष गर्दै प्राधिकरणको आर्थिक स्थितिबारे प्रश्न उठाए।

प्राधिकरण घाटामा रहेको दाबी
मन्त्री खड्काले महालेखाले प्रस्तुत गरेको प्रतिवेदनको हवाला दिँदै विद्युत प्राधिकरण घाटामा रहेको स्पष्ट भएको बताए। तर, प्राधिकरणका प्रमुख घिसिङले भने संस्थालाई नाफामा रहेको जस्तो देखाउन खोजेको उनको आरोप थियो।

लोडसेडिङ अन्त्यको जस भारतलाई
नेपालमा लोडसेडिङ हटेको भनिए पनि यसको मुख्य कारण भारतबाट गरिएको बिजुली आयात रहेको बताउँदै मन्त्री खड्काले त्यसको जस भारतलाई दिनुपर्ने उल्लेख गरे।

“अहिले मात्र ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ, जबकि हामीसँग आन्तरिक उत्पादन जम्मा एक हजार मेगावाटजति मात्र छ। अब साँझको समयमा घरघरमै लोडसेडिङ हुने सम्भावना छ,” मन्त्री खड्काले भने।

उद्योगलाई पर्याप्त विद्युत आपूर्ति हुन सकेन
मन्त्री खड्काका अनुसार अहिले पनि रातिको समयमा उद्योगहरूलाई आवश्यक जति विद्युत उपलब्ध गराउन सकिएको छैन।

लोडसेडिङ छैन भन्ने भ्रम
नेपालमा लोडसेडिङ समाप्त भएको भनेर प्रचार गरिएको भए पनि वास्तविकता फरक रहेको मन्त्री खड्काको दाबी छ। “अहिले हामीलाई प्रयाप्त बिजुली छैन। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दैगर्दा पनि लोडसेडिङ थियो,” उनले स्पष्ट रूपमा भने।

प्राधिकरणले घरलाई बिजुली दिएर उद्योगलाई काटेको आरोप
उनले नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकलाई बिजुली उपलब्ध गराउने नाममा उद्योगहरूलाई आवश्यक आपूर्ति कटौती गरेको आरोप लगाए।

मन्त्री खड्काको यो भनाइसँगै नेपालको ऊर्जा व्यवस्थापन, विद्युत आपूर्ति र भविष्यमा लोडसेडिङको सम्भावनाबारे बहस चर्किने देखिन्छ। नेपालले हाइड्रोपावरमा लगानीगरी विद्युत उत्पादन गर्नुको विकल्प देखिँदैन्।

प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com