काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालमा गणतन्त्र कुनै हालतमा फिर्ता नजाने बताएका छन्। उनले रहर गरेर वा व्यक्तिगत आकांक्षाले राजतन्त्र पुनःस्थापना नहुने भन्दै त्यसप्रति आश नराख्न पूर्वराजालाई सन्देश दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा आयोजित कार्यक्रममा देउवाले संविधान सभामार्फत नेपाली जनताको इच्छाअनुसार गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै यो अब हट्ने सम्भावना नै नभएको बताए।
“गणतन्त्र नेपाली जनताले स्वीकृत गरिसकेका छन्। यो अब कुनै हालतमा फिर्ता हुँदैन,” उनले भने, “संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिसकेको छ। हिमाल, पहाड, तराईका सबै समुदायको सहभागिता रहने गरी गणतान्त्रिक संविधान बनेको छ। अब यसलाई हटाउने वा परिवर्तन गर्ने कुनै ठाउँ छैन।”
देउवाले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै थप सुदृढ बनाउन सबैले योगदान गर्नुपर्ने बताए। “यो व्यवस्था अब स्थायी भइसकेको छ, यसमा द्विविधा राख्नु आवश्यक छैन,” उनले थपे।
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
प्रतिक्रिया