काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) ले कांग्रेसलाई पटक–पटक मूर्ख बनाउँदै आएको आरोप लगाएका छन्। उनले एमालेले कांग्रेसलाई “उद्योग बेचेर खाने पार्टी” भनेर गलत प्रचार गर्दै मूर्ख बनाउन खोजेको बताएका छन्।
बुधबार तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले एमाले मात्र होइन, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत कांग्रेसलाई मूर्ख बनाउन लागिपरेको दाबी गरे।
“पहिले एमालेले हामीलाई मूर्ख बनायो। के भनेर? उद्योग बेच्ने पार्टी भनेर। कांग्रेस सरकारलाई कागज, जुत्ता, चुरोट, सिमेन्ट वा रक्सी उत्पादन गर्ने निकाय बनाउने पक्षमा छैन। उद्योगधन्दा सञ्चालन गर्नु सरकारको काम होइन। नागरिकले गर्न सक्ने काम सरकारले गर्न हुँदैन,” उनले प्रस्ट्याए।
थापाले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकार विकास र समृद्धिका लागि नीतिगत व्यवस्थामा केन्द्रित हुनुपर्ने तर्क समेत अघि सारे। उनका अनुसार, एमाले जस्ता दलहरूले गलत व्याख्या गरेर जनतालाई दिग्भ्रमित पार्न खोज्दै आएका छन्।
प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार
प्रतिक्रिया