काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज (बिहीबार) प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भयो। पहिलो प्रश्न एमाले सांसद भगवती चौधरीले राखेकी थिइन्। उनले नेपाली युवाहरूको विदेश पलायनबारे जिज्ञासा व्यक्त गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै युवाहरूको ठूलो संख्यामा विदेशिनु चिन्ताको विषय भएको बताए। उनले भने, “केही व्यक्तिहरू बाहिर जानु स्वाभाविक हो, तर व्यापक रूपमा युवाहरू देश छाड्नु उचित होइन। हाम्रो खेतबारी बाँझो बन्दै गएको छ। उत्पादनयोग्य जमिनलाई परित्याग गरेर ऋण लिएर विदेश जानु, जोखिमपूर्ण बाटो हुँदै अमेरिका पुगेर निष्कासनमा पर्नु सही होइन।”
प्रधानमन्त्री ओलीले अध्ययनका लागि विद्यार्थीहरू विदेश गइरहेको यथार्थ स्वीकार्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राख्दै थिए। तर, यहीबेला एमाले सांसद राजेन्द्र राई, जो धनकुटाबाट निर्वाचित सांसद हुन्, आलस्य प्रकट गर्दै हाई काढ्न थाले। प्रधानमन्त्रीको सम्बोधनकै क्रममा सांसद राईको यस्तो व्यवहारले बैठकमा केहीबेर रोचक माहोल सिर्जना गर्यो।
प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार
प्रतिक्रिया