वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि मात्र बनेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल रहेको बताएका हुन्। उनले वर्तमान सरकार भष्टाचारमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्ने र अनियमिततालाई प्रश्रय दिने काममा लागेको आरोप लगाए।

दाहालले भने, “ओली सरकारको प्राथमिकता राम्रो शासन होइन, भ्रष्टाचारीलाई जोगाउनु मात्र हो। राम्रो काम गर्नेहरूलाई दण्डित गरिन्छ भने अनियमितता गर्नेहरूलाई पुरस्कृत गरिन्छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, तर त्यस्तो भएको छैन। उल्टै, सभापतिलाई नै ठूला-ठूला आरोप लाग्दा पनि प्रधानमन्त्रीले उनलाई जोगाउन सम्पूर्ण शक्ति लगाएका छन्।”

उनले प्रधानमन्त्री ओलीमाथि अराजकता बढाउने, सुशासन तहसनहस पार्ने, र बेथितिलाई संस्थागत गर्ने आरोप लगाए। दाहालले “ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न खोजेको होइन, बरु त्यसलाई प्रश्रय दिइरहेको छ” भन्दै सरकारको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष दाहालले आफू २०८४ सालसम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे। उनले “मेरो प्राथमिकता जनताको साथमा रहनु हो, न कि सत्ताको लागि दौडिनु” भन्दै सरकारमा हुँदा होस् या प्रतिपक्षमा हुँदा— आफ्नो पार्टीले सधैं जनताका पक्षमा नै लडिरहने बताए।

उनले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको स्मरण गराउँदै, आर्थिक विकासलाई प्राथमिकता दिएको उल्लेख गरे। “हामीले सरकारमा हुँदा मुलुकको आर्थिक गतिलाई तिव्र बनाउने प्रयास गर्‍यौं, तर अहिले सरकार पूर्णतः दिशाहीन देखिन्छ” भन्दै वर्तमान सरकारको नीतिहरूको आलोचना गरे।

प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com