काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको कारण इतिहासका कुडाकर्कटमा गइसकेकाहरुले पनि टाउको उठाउने दुस्साहस गरेको बताएका छन् ।
आज (शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित जगरण सभालाई सम्बोधन गर्दै उनले सरकारले बेथिति र अराजकतालाई प्रश्रय दिँदा पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको गतिविधि बढेको बताएका हुन्।
‘भ्रष्टाचारको रक्षाका निम्ति बनेको यो सरकार र बेथिति र अराजकतालाई प्रश्रय दिने यो सरकारका कारणले नै अहिले इतिहासका कुडाकर्कटमा गइसकेकाहरुले पनि टाउको उठाउने दुस्साहस गरेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन । तर, त्यो दुस्साहसको विरुद्ध पनि हामीले प्रतिवाद गर्नु नै पर्ने छ । मलाई विश्वास छ, आउने १५ गते पुग्दा नपुग्दै त्यो त सिद्दिनैहाल्छ,’– उनले भने ।
आफूहरु जीवित रहँदासम्म हजारौंको बलिदानीबाट प्राप्त भएको उपलब्धी कुनै पनि हालतमा गुम्न नदिने उनले बताए । उनले वर्तमान संविधानमा धेरै राम्रा कुराहरु समावेश भएको बताउँदै अरु उपलब्धीको लागि अगाडि जानुपर्ने बताए । वर्तमान संविधानलाई उपयुक्त हुने राजनीतिक प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली रहेको प्रचण्डले बताए । अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।
प्रचण्डले अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो र जोकोही चुनाव लड्न नसक्ने रहेको बताए ।
प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार
प्रतिक्रिया