काठमाडौं – नेपालका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज महत्वपूर्ण भेटवार्ता हुने भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरू सिंहदरबारमा छलफल गर्न जुट्नेछन्।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अपराह्न ४ बजे बैठक बस्ने तय गरिएको छ।

संक्रमणकालीन न्यायबारे छलफल

यस बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्रमुख रूपमा उठाइने बताइएको छ। गत चैत ६ गते प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको अवस्थाबारे प्रश्न गर्दा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताएका थिए। तर, निरन्तर प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको उनको भनाइ थियो।

यसै विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार चैत ४ गते खुमलटार पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्न खोजेका थिए।

गणतन्त्र र राजावादी गतिविधि पनि छलफलको एजेन्डा

संक्रमणकालीन न्यायसँगै पछिल्लो समय राप्रपा तथा राजावादी समूहहरूले बढाएका गतिविधि र गणतन्त्र पक्षधर दलहरूको भूमिका सम्बन्धमा पनि नेताहरूबीच आजको बैठकमा गहन छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com