काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित चार प्रमुख राजनीतिक दलले गठन गरेको समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन आयोजना गर्ने तयारी गरेको छ। यस मोर्चामा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, र नेपाल समाजवादी पार्टी समावेश छन्। यी दलहरूले आफ्नो पार्टीका अधीनस्थ संगठनलाई जनप्रदर्शनमा सहभागी हुन निर्देशन दिने सर्कुलर जारी गरिसकेका छन्। चार दलको गठबन्धनले काठमाडौंमा एक लाखभन्दा बढी जनता उतार्ने लक्ष्य राखेको छ।
समाजवादी मोर्चाले आयोजना गर्न लागेको यो प्रदर्शनको उद्देश्यबारे विभिन्न बहसहरू पनि शुरु भएका छन्। माओवादी केन्द्रका नेता र प्रतिनिधि सभा सदस्य सुदन किरातीले सरकारको जनविरोधी गतिविधिहरू र संविधानविपरीत भइरहेको अराजकता विरुद्ध विरोध जनाउनका लागि सडकमा उत्रने बताएका छन्।
“हाम्रो जिम्मेवारी दुईवटा छ। पहिलो, सरकारले गरेका भ्रष्टाचारी र जनविरोधी कामहरूको भण्डाफोर गर्नु, र दोस्रो, संविधानविपरीत भइरहेका अराजक गतिविधिहरूको विरोध गर्नु। हाम्रो प्रमुख उद्देश्य व्यवस्था जोगाउनका लागि हो,” किरातीले भने।
उनले सत्ताधारी दलहरूको संरक्षणमा राजतन्त्रवादीहरूले गतिविधि गरिरहेका हुनसक्ने आशंका पनि व्यक्त गरे। किरातीका अनुसार, कांग्रेस र एमालेका केही नेताहरू राजावादी समूहलाई आड दिन सक्छन् भन्ने संकेत विभिन्न घटनाक्रमबाट प्रकट भएको छ। उनले कांग्रेसको सात प्रदेशको गोष्ठीको रिपोर्टमा हिन्दु गणतन्त्रको पक्षमा रहेको कुरा र सरकारको कुनै पहल नगरेको तथ्यलाई संज्ञानमा लिदै भने, “प्रधानमन्त्री ओलीको ‘गणतन्त्र आउनु र बयल गाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भन्ने अभिव्यक्तिमा कुनै गम्भीर सन्देश हुनसक्छ।”
किरातीले अझ भने, “सत्ताधारी दलहरूको भित्रैबाट राजावादी गतिविधिमा आड लिइरहेको हुनसक्छ। गणतन्त्रको पक्षमा मोर्चा बनाउन कांग्रेसमा सहमति भएन भने, यो हाम्रो आशंका अझै प्रबल हुन्छ।”
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
प्रतिक्रिया