काठमाडौं । नेपालको बैंकिङ क्षेत्र हाल गम्भीर संकटको सामना गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय (खराब) कर्जा द्रुत रूपमा बढिरहेको छ, तर बैंक व्यवस्थापकहरूले समस्या समाधान गर्नुको साटो नाफामुखी नीति अपनाइरहेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निष्क्रिय कर्जा दुई खर्ब ६७ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जा प्रवाहको ४.९२ प्रतिशत हो।

पछिल्लो समय बैंकहरूको कर्जा व्यवस्थापन प्रणाली प्रभावकारी रूपमा सञ्चालन नभएको देखिन्छ। व्यवसायीहरूसँग उच्च ब्याज असुल्ने, कर्जामा विभिन्न सेवा शुल्क थप्ने तथा ग्राहकलाई आर्थिक दबाब दिने कार्यमा बैंकहरू अग्रसर देखिए पनि जोखिमयुक्त कर्जा प्रवाहलाई नियन्त्रण गर्न असफल भएका छन्। यस्तो गैरजिम्मेवार गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भएकाले नियामक निकायहरूले तत्काल ठोस कदम चाल्न आवश्यक छ।

प्रभु बैंकमा अनियमितता: १ अर्ब रुपैयाँभन्दा बढीको घोटाला

नेपालको बैंकिङ क्षेत्रमा प्रभु बैंक सबैभन्दा विवादित बैंकको रुपमा अग्रभागमा छ। पछिल्लो समय प्रभु बैंकमा एक पछि अर्को गम्भीर अनियमितताका काण्डहरु सार्वजनिक भएको छन्। विशेष स्रोतका अनुसार, प्रभु बैंकको भैरहवा शाखाबाट आनन्द ग्रुप, आनन्द इन्भेस्टमेन्ट, आनन्द एग्रो लगायतका कम्पनीहरूलाई पटक–पटक गरी करिब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ।

तर, कर्जा प्राप्त गर्ने आनन्द पन्थी तथा उनका कम्पनीहरूले विगत तीन वर्षदेखि कुनै किस्ता तिरेका छैनन्। हालसम्म ब्याज मात्र २१ करोड ५६ लाख रुपैयाँ नाघिसकेको छ। बैंकले कर्जा असुलीका लागि कुनै ठोस कदम नचालेको तथ्यले यस घटनालाई झनै शंकास्पद बनाएको छ।

सीईओ अशोक शेरचन र राजनीतिक संरक्षणको मिलेमतो

प्रभु बैंकको भैरहवा शाखाबाट ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएपश्चात् तीन वर्षसम्म कुनै किस्ता तिरेको छैन, तर बैंकले कुनै ठोस कारबाही पनि अघि बढाएको छैन। नियामक निकायहरू पनि यस विषयमा मौन देखिएका छन्।

विशेष सूत्रका अनुसार, प्रभु बैंकका सीईओ अशोक शेरचन, ऋणी आनन्द पन्थी तथा प्रादेशिक उच्च राजनीतिक शक्तिबीचको मिलेमतोका कारण यो अनियमितता योजनाबद्ध रूपमा गरिएको हो। नेपालमा बैंकिङ प्रणाली अत्यधिक केन्द्रीकृत रहेको हुँदा यति ठूलो घोटाला शाखा स्तरबाट मात्र सम्भव नहुने देखिन्छ। यसमा उच्च पदस्थ अधिकारीहरूको संलग्नता रहेको आशंका छ।

लालपुर्जा बैंकमा: धितो मुल्यांकन हावामा

ऋण प्रवाह गर्दा करिब १० बिगाहा जग्गा धितो राखिएको देखाइएको थियो। लालपुर्जा सक्कली भए पनि, जग्गाको वास्तविक मूल्यांकन नक्कली गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बैंकमा धितो राखिएको लालपुर्जाको वास्तविक जग्गा बजारमा अस्तित्वमै नभएको आशंका गरिएको छ। यस घटनाले १ अर्ब रुपैयाँभन्दा बढीको घोटालालाई सम्भव बनाएको बुझिन्छ।

प्रभु बैंकका सीईओ अशोक शेरचन हाल नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि प्रमुख दावेदारका रूपमा चर्चामा छन्। यस्तो अवस्थामा, उनको नामसँग जोडिएको १ अर्ब रुपैयाँभन्दा बढीको बैंकिङ घोटालाले उनको राष्ट्र बैंकको गभर्नर बन्ने आकाङ्क्षा माथी गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायहरूले प्रभु बैंकमा देखिएको यस्ता अनियमितताको यथाशीघ्र छानबिन गरेर दोषीहरूलाई कानुनी कारबाही नगरिएमा नेपालको बैंकिङ प्रणालीको विश्वसनीयता गम्भीर संकटमा पर्ने देखिन्छ।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com