अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मंगलबार भएको दर्दनाक बस दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन्, भने २७ जना घाइते भएका छन्। मृतकहरूमध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन्।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु (नाम नखुलेको), तथा पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विकको दुखद निधन भएको छ।
दुर्घटनामा ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते सात जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रेफर गरिएको छ। ती घाइतेहरूमा ३६ वर्षीय सन्तोष कडेंल, ४ वर्षीय अमर कडेंल, १९ वर्षीय अरुण भट्टराई, ३१ वर्षीय आशिष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, र १४ वर्षीय आयान्स अधिकारी रहेका छन्।
घटनामा घाइते अन्य यात्रुहरूको इलाका प्रहरी कार्यालय ठाडाको सहयोगमा प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भइरहेको छ। अन्य घाइतेहरूमा ४० वर्षीया चन्द्रकला भट्टराई, १७ वर्षीय सक्षम चापागाईं (रुपन्देही, देवदह), ४५ वर्षीय मित्रबन्दु अधिकारी (बर्दघाट–१५), ५५ वर्षीय कलम सापकोटा (बर्दघाट–१४), ४८ वर्षीय लक्ष्मण पंगेनी, ४० वर्षीया मनकुमारी घिमिरे, २९ वर्षीय दीपक अधिकारी, ५० वर्षीय दण्डपानी बस्याल (बुटवल), ३६ वर्षीया झविकला पाण्डे (बर्दघाट–१४), २५ वर्षीय गणेश बस्याल (बुटवल), तथा ३२ वर्षीय रामु अधिकारी (बुटवल उपमहानगरपालिका–१३) रहेका छन्।
दुर्घटनामा परेको लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची घुम्न गएका यात्रुहरू लिएर फर्कने क्रममा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूले उद्धार कार्य तत्कालै थालेका थिए। गम्भीर घाइतेहरूलाई तुरुन्तै बुटवल रेफर गरिएको छ भने अन्यको ठाडा प्राथमिक उपचार केन्द्रमा उपचार जारी रहेको छ।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
प्रतिक्रिया