काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेकपा एमालेका नेता महेश बस्नेतले आर्थिक अनियमितताको गम्भीर आरोप लगाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै बस्नेतले घिसिङले भ्रष्टाचार गरेको दाबी गरे। उनका अनुसार घिसिङले चिलिमे हाइड्रोपावर कम्पनीमा रहँदा अनियमित तरिकाले आर्जित रकमबाट धुलिखेलमा २५ रोपनी जग्गा खरिद गरेका छन्।
त्यसैगरी, बस्नेतले घिसिङमाथि लामा कन्स्ट्रक्सन कम्पनीमा १ अर्ब ५० करोड रुपैयाँको सेयर खरिद गरेको आरोप समेत लगाएका छन्।
यति मात्र नभई, घिसिङ कार्यकारी निर्देशक बनेको एक महिनाभित्रै उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा ‘तेण्डल हार्डवेर प्रा.लि.’ नामक कम्पनी दर्ता गराइएको बस्नेतको दाबी छ।
हालसम्म कुलमान घिसिङ वा सम्बन्धित निकायबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
प्रतिक्रिया