काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै हालै नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्नु सरकारको भ्रष्ट प्रवृत्तिको प्रमाण भएको दाबी गरेका छन्।

मंगलबार भोजपुरको रामप्रसाद गाउँपालिका–ओख्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले गरेको यो निर्णय भ्रष्टाचारलाई प्रश्रय दिने कार्य भएको बताए। प्रेमकुमार राई रानोहोँछा स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा किरातीले वर्तमान सरकारलाई ‘भ्रष्टाचारी सरकार’ को संज्ञा दिँदै, “सदाचारी व्यक्ति भनेर चिनिएका कुलमानलाई कारबाही गर्नु भनेको प्रतिगमनकारी हर्कतलाई मलजल गर्नु हो,” भने।

उनले सरकारको पछिल्लो निर्णयले जनतामा तीव्र आक्रोश पैदा गरेको दाबी गर्दै अब यस्तो अन्यायलाई चुपचाप स्वीकार गर्न नसकिने चेतावनी दिए। श्रीलंकामा राष्ट्रपति गोतबया राजापाक्षे जनताको आक्रोशका कारण देश छोडेर भाग्न बाध्य भएको उदाहरण दिँदै उनले भने, “बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले जस्तै यहाँ पनि सत्ताधारीहरू रातारात देश छोडेर भाग्नुपर्ने दिन आउन सक्छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई व्यंग्य गर्दै किरातीले प्रश्न गरे, “काम गरेर परिणाम देखाउने कुलमानलाई बर्खास्त गरेर, भ्रष्टाचारी र दुराचारीलाई संरक्षण गरेर सुखी र समृद्ध नेपाल कसरी सम्भव छ?”

उनको धारणा अनुसार, वर्तमान सरकारको क्रियाकलापले लोकतन्त्र र जनताको विश्वासमाथि चोट पुर्‍याइरहेको छ, जसको मूल्य अन्ततः सत्ताधारीहरूले नै चुकाउनुपर्नेछ।

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com