काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने प्रयास भइरहेको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।
सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराजलाई बदनाम गराउने तथा घटनासँग संलग्न देखाउने नियतले नजरबन्द गर्ने वा पक्राउ गर्ने तयारी भइरहेको समाचारहरू बाहिर आइरहेका छन्। यदि यस्तो कुनै कदम चालियो भने देशभर स्वतःस्फूर्त रूपमा आम नागरिकहरू विरोधमा उत्रनेछन्।’ उनले सरकारलाई यस्ता कार्यबाट टाढा रहन चेतावनी दिएका छन्।
पक्राउ परेका नेताहरूको रिहाइको माग
सुवेदीले चैत्र १५ गतेको आन्दोलनपछि पक्राउ परेका समितिका रवीन्द्र मिश्र तथा धवलशमशेर राणालगायतका नेताहरूको अविलम्ब रिहाइको माग समेत गरेका छन्। उनले सरकारद्वारा गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक अधिकार हनन नगर्न चेतावनी दिएका छन्।
तीनकुने आन्दोलनमा घुसपैठको आरोप
उनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा सरकार पक्षबाट नियोजित रूपमा घुसपैठ गराइएको आरोपसमेत लगाए। ‘आन्दोलन घोषणा सभामा हाम्रो संघर्ष समितिका नेताहरू सम्बोधन गर्न नपाउँदै योजनाबद्ध तरिकाले प्रहरी दमन गरियो। यसले आन्दोलनलाई बदनाम गर्ने प्रयास गरिएको देखिन्छ,’ सुवेदीले भने।
उनले हालको परिस्थितिमा कुनै पनि अराजक गतिविधिलाई बल नपुर्याउन सबै पक्षलाई आग्रह गर्दै ‘धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न’ चेतावनी दिए।
आन्दोलनका क्रममा दुईको मृत्यु, दर्जनौं घाइते
चैत्र १५ गते तीनकुनेमा राजसंस्थावादीहरूले आयोजना गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जानकारी प्राप्त भएको छ। त्यस्तै, आन्दोलनका क्रममा केही सवारी साधन तथा घरमा आगजनी भएको खबर छ।
सुवेदीले उक्त घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया