काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई कसैले हटाउन नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखे।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने कुनै सम्भावना नभएको दोहोर्याए।
“हिजो काठमाडौंमा जुन अराजक गतिविधि भयो, त्यो पूर्वराजाको नाममा गरिएको हो। देशमा अशान्ति मच्चाउने प्रयास भइरहेका छन्। तर, प्रस्ट भन्नुपर्छ— अहिले ज्ञानेन्द्र शाह यस्तो गर्छन् भने, राजा भए के गर्लान्?” देउवाले भने।
उनले थपे, “यी पूर्वराजा कहिल्यै संवैधानिक राजा भएका छैनन्, न भविष्यमा बन्न सक्छन्।”
देउवाले मुलुकलाई पछाडि फर्काउने कुनै पनि प्रयास सफल नहुने बताउँदै लोकतान्त्रिक मूल्य र गणतन्त्रको रक्षा सबैको दायित्व रहेको उल्लेख गरे।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया