- नारायण नेपाल/आलेख
जहिलेको र्यालीले देश आक्रान्त छ । आन्दोलनको सीमा छैन । कतै दल अन्योल बनाउन व्यस्त छन् भने कतै कोही कर्मचारी नियुक्ति, सरुवा, बढुवा, तथा बर्खास्तीलाई लिएर जथाभावी बबाल गर्ने क्रम जारीजस्तो छ । कथित माननीय नेताहरू सुविधा बढाउन मिल्नेगरेका पाइन्छन् । प्रकृतिले सजिएको विकासको रम्य सम्भावना बोकेको मुलुक कस्तो बन्नुपर्ने कस्तो बनाइँदैछ बुझिनसक्नु मानिन्छ । समाज व्यवस्थापनका मूल विषयमा देशलाई अनिर्णयको बन्दी बनाएर सोझा निमुखा जनताको रगत चुस्ने काम अविच्छिन्न हुनु विडम्बनापूर्ण मान्नेहरूको सङ्ख्या उल्लेख्य बढ्दो बुझिन्छ ।
कथ्यमात्रै होइन लेख्य इतिहास यस देशसित जोडेर हेर्ने हो भने विगत न वर्तमान सरकारी स्थायित्व राम्रो कहानी हुनेगरेको बुझ्नसकिन्छ। पर्ख र हेरका कतिपयले पनि कित्ताकाट गर्नुपर्नेजस्तो बुझ्नथालेको सूत्रले देखाएको छ। राजावादी र गैह्र-राजावादी ! गैह्र-राजावादीहरू प्राय गणतन्त्रवादी ठहरिने भए भने राजावादीहरू राजाले गद्दी चढेको हेर्नचाहने जमात ! जे होस्, राजा ल्याउने र राजा छेक्ने दुई कित्ते र्यालीले जनमानसमा एउटा सन्देश स्पष्ट टङ्कन गरेको भान हुन्छ ।
प्रदर्शनका क्रममा एकातिर राप्रपाका केही कार्यकर्ता र राजा आए केही फलदायी हुने सोचको खुल्ला समूह लागेको पाइयो भने अर्कातिर गणतन्त्र चाहकको समूह शक्ति प्रदर्शनमा लागेको । दुवै खेमालाई नजिकबाट निहाल्न खोज्ने अन्य व्यक्तिहरूको जत्था उत्तिकै मैदान-ए-डटानमा देखिन्थे ।
विभिन्न मत अभिमत सुन्नमा आए:
- अब राजा आउने निश्चित भयो । राजा आए भने यी दलाल भ्र्ष्टाचारीका आन्द्रा छर्नेछन्।
- आ… राजा आए पनि के… नआए पनि के, हामीलाई काम गरीखान पाए हुने । जो आएपनि अहिलेका भ्रष्ट सबलाई पाता कस्नसक्ने चैँ हुनुपर्छ । अति नै लुटे क्या !
- गणतन्त्र पनि बेठिक चैँ होइन, नेता उल्टा परेर हो । एउता प्रणाली बसोस् अनि समाबेशी समाज र शान्ति तथा विकास सम्भव भए जनताले राजा नै खोज्लान् जस्तो पनि लाग्दैन ।
- देशलाई वैदेशिक रिनको भार थप्ने, जनतालाई पनि नानाथरी कर लाउने र आएपाएको रकम नेताहरूले आफ्नो स्वार्थका लागि खर्च गर्ने बडो गलत काम भैरहेको छ । यस्ता बेथितिबाट जनाताले अविलम्ब निकास चाहेको बुझ्न आलोपालो सरकार चलाउने र सरकारबाहिर बस्नुपर्दा बेमेल उछाल्ने सबले ढिला गर्नु हुन्न भन्ने बहुसङ्ख्यक बुद्धिजीवीको मत रहेको छ । राजाले सक्ने भए उहिले नै अलि सम्हालेर गद्दी कायम राख्नेथिए । विनापानीको रुझान काम छैन ।
- यति सानो देशमा एक सयभन्दा धेरै दल छन् र सबै दलले तिनका नेता जननायक भएको दावी गर्ने गरेका छन् । अनावस्यक देवत्वकरण गरिएका दुई चार व्यक्ति छन् र घोषणापत्र लोकाकाल्याणकारी नै बुझिन्छ, तर खोइ त व्यवहारमा ? सब खान पल्केकाहरू ! अर्को दल र समूह त यिनले देख्तैदेख्तैनन् त ! झन जनतासम्मको बुझ यिनमा के रहन्थ्यो र !? राष्ट्र बुझ्ने र दूरद्रष्टा रहेका विगतका नायकी पात्रलाई गाली गर्ने र वर्तमान लुट्ने कस्तो प्रवित्ति, छ्या !
- राजावादीहरूलाई निचो देखाउन घुशपैठ गरेर ज्ञानेन्द्रलाई दोस्ने कामको मलजलमा दलगत सबै लागिपरेकाले आन्दोलन थप अप्ठ्यारोमा पर्ने देखिन्छ, अलिक सम्यमित र भद्र बाटोको छनौटमा सम्बन्धित सबैले जोड दिए बेश !
- टोले राजारानीहरू बग्रेल्ती खानपाएका छन्, यिनले राजालाई निर्मल निवासमा पनि बसेको देखिसहेका छैनन् र अनेकौ षड्यन्त्र गर्दाछन् ! आफू गल्ती गर्ने र डर मान्ने अनि अरूलाई दोसेर आफू खुलेआम लुटको धन्धा जारी राख्ने यिनको रणनीतिले ज्ञानेन्द्रलाई थप अप्ठ्यारो पार्नखोजेको पनि अवस्था हो । पहिले राजा फाल्ने पनि यतिखेर च्याउसरी राजाभन्दा एकै राजा ठिक हुन् कि भन्ने अवस्थामा यिनैले त देश पुर्याएका हुन्न नि ! बुझापाचाएर बस्याछन् सब, के भन्ने !
- सत्य निरूपणका नाममा (अपराधिक गतिविधिबाट जथाभावी उन्मुक्ती चाहने) र आफूआफू भीआइपी दरिने अनि सुविधा लुट्ने परिपाटीमा सबै मिलेजस्तो देश विकासमा योगदान गरे हामी सबैको गुनासो रहने थिएन !
पछिल्लो झडपमा गोली चलेको छ र ज्यान गएको छ, मृतकलाई अविलम्ब शहीद घोषणा गरियोस् र क्षतिपूर्तिको व्यवस्था होस् । लुटपाट तथा आगजानी पनि भएको सुनिन्छ, हुल्लठबाजलाई कार्बाही होस् र पीडितले न्यायोचित सम्बोधन पाओस् ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेका थिए, र घर, पसल, सञ्चार गृह तथा सरकारी सम्पत्तिमा आगजनी गरेका थिए । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाइएको थियो भने भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुने क्षेत्रमा बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।
यस क्रममा तोडफोड तथा आगजनीमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । गृह मन्त्रालयका अनुसार झडपका क्रममा एक पत्रकारसहित दुईजनाको हताहतीसमेत भएको छ भने क्षतिको अन्य विवरण आउन बाँकी छ ।
वास्तवमा पनि यो दल र त्यो दल नभनी समग्र राष्ट्र रम्ने प्रणाली निर्माण र आवस्यक जनकल्याणका काममा अविलम्ब सरोकारवाला सबै लागिपर्नुको विकल्प छैन भन्नसकिन्छ । पटके परिवर्तनका व्यवस्थाले सर्वजनहिताय विधिको स्थापना अनि देश र जनाताको समयसापेक्ष अवस्थामा रचनात्मक सुधार चाहिने सन्देश सङ्केत गर्ने यस्तो आन्दोलन मर्यादित र अनुकरणीय बनाउन आयोजक र सुरक्षासरोकारी सबै थप चनाखो रहन उत्तिकै जरुरी मानिन्छ । पूर्व लागे मङ्गोलिया देख्ने, मध्यपहाडी भेग पुगे ककेशिया ठोस्ने, उत्तरलाई चिनसित र दक्षिणका साझा विशेषतामा भारत देखाउने प्रदुशित मानसिकता त्यागेर समग्र नेपाल र नेपालीका हितमा काम गर्ने जनप्रेमी विकासको परिचायक नेताको खोजीमा सर्वसाधारण जन रहेको सत्य शिरोपर गर्दै अगाडि बढ्नु वाञ्छनीय ठानिएको छ ।
- (नारायण नेपाल, अध्यापक तथा समसामयिक चिन्तक)
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया