काठमाडौं । गोकर्णस्थित कान्तिभैरव गुरुकुलको सहयोगार्थ तयार गरिएको विशिष्ट संस्कृत नाटक ‘प्रतिष्ठा’ काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भव्य रूपमा मञ्चन गरिएको छ। संस्कृत भाषामा रचित तथा नारीशिक्षाको सशक्त आवाज बोकेको यो नाटक चैत २६ र २८ गते दुई चरणमा सम्पन्न भयो।

प्रा. डा. नवराज कट्टेलद्वारा लिखित तथा निर्देशक रामकाजी घिमिरे र सहनिर्देशक भेग पहरीको निर्देशनमा तयार भएको यो नाटक कान्तिभैरव गुरुकुलको संयोजनमा प्रस्तुत गरिएको हो। उद्घाटन समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र समापन समारोह नेपाल भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भयो। सूत्रधार लक्ष्मण भट्टराईको प्रस्तुति सम्पूर्ण नाटकलाई भावनात्मक र बौद्धिक गहिराइमा बाँधेर राख्यो।

नाटक हेर्न आउने विशिष्ट दर्शकमध्ये प्रा. विद्यानाथ भट्ट, संस्कृतिविद् प्रा. डा. ऋषिराम पोखरेल, योजना आयोगका सचिव सुरेश अर्याल, योग प्रशिक्षक तथा कलाकार प्रकाश नेवा, लेखक नारायण नेपाल, बौद्ध महासंघका पूर्व अध्यक्ष नोर्बु शेर्पा, नेपाल गुरुकुल मञ्चका अध्यक्ष विद्यावारिध श्रीराम अधिकारीजस्ता व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

‘प्रतिष्ठा’ मा सर्वाणी पराजुली, रूपेश पराजुली, सुलज्ञ भट्टराई, नवीन रेग्मी, मधु पराजुली, मन्दिप रिमाल, कृन्जुल बराल, पेशल गौतम, रमण सिग्देल र सुदिप आचार्यको प्रभावशाली अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनायो। संस्कृत भाषाको सशक्त प्रयोग, नारीशिक्षासँग जोडिएको कथावस्तुको गहिराइ, र प्रस्तुतीकरणको कलात्मकता समीक्षकहरूले अत्यन्त प्रशंसायोग्य ठहर गरेका छन्।

कार्यक्रमको विशेष क्षणमा भाषासाहित्यका क्षेत्रमा पुर्याएको योगदानका लागि साहित्यसेवी वसन्त रिजाललाई सम्मान गरिँदै, नारीशिक्षा र भाषा संरक्षणप्रतिको प्रतिबद्धता प्रकट गरिएको थियो। ‘प्रतिष्ठा’ नाटकले संस्कृत नाट्य परम्परामा नयाँ युगको सुरुवात गर्दै सांस्कृतिक चेतनालाई पुनर्जीवित गर्ने गहन प्रयत्न प्रस्तुत गरेको देखिन्छ।

 

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com