काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो पर्यटन गन्तव्यको रूपमा होइन, उच्च मूल्य, समृद्ध अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अब ‘बजेट डेस्टिनेसन’को छवि त्यागेर ‘प्रिमियम आरोग्य गन्तव्य’तर्फ अग्रसर हुनुपर्ने स्पष्ट पारे।
सभामुख अर्यालका अनुसार केवल पर्यटकको संख्या बढाउनु मात्र आर्थिक समृद्धिको मापन होइन, बरु उनीहरूले पाउने अनुभवको स्तर र त्यसबाट सिर्जित आम्दानीको गुणस्तर अझ महत्वपूर्ण हुन्छ। उनले आरोग्य पर्यटकहरू अन्य पर्यटकको तुलनामा बढी खर्च गर्ने र लामो समयसम्म बस्ने भएकाले यस्तो पर्यटनले अर्थतन्त्रमा गुणात्मक योगदान पुर्याउने बताए।
उनले नेपालका हिमालय क्षेत्र, पवित्र नदीहरू तथा प्राचीन योग र ध्यान परम्पराहरू विश्वस्तरमै अद्वितीय सम्पदा भएको उल्लेख गर्दै यी सबैलाई ‘आरोग्य पर्यटन’का प्रमुख आकर्षणका रूपमा विकास गर्न सकिने धारणा राखे। उनका अनुसार आजका पर्यटकहरू विलासिता मात्र होइन, आत्मिक शान्ति, मानसिक सन्तुलन र जीवनको अर्थ खोज्दै यात्रा गर्ने प्रवृत्तिमा छन्।
विश्वव्यापी रूपमा आरोग्य पर्यटन तीव्र गतिमा विस्तार भइरहेको र यो बहु-अर्ब डलरको उद्योगमा रूपान्तरण भइसकेको उल्लेख गर्दै उनले नेपालसँग यस क्षेत्रमा अपार सम्भावना रहेको औंल्याए। पश्चिमका बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आध्यात्मिक अनुभूति दिलाउने उत्कृष्ट गन्तव्य भएको उनले बताए।
सभामुख अर्यालले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई समेट्ने नयाँ पर्यटन मोडेल विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य रणनीति र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य हुने बताए।
नेपाल सरकारको पहलमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा मान्यता दिनु देशका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताए। उनका अनुसार यो दिवस केवल औपचारिकता नभई मानव जीवनलाई सन्तुलित बनाउने, प्रकृतिसँग पुनः जोड्ने र आत्मिक शान्तितर्फ उन्मुख गराउने महत्वपूर्ण अवसर हो।
सभामुख अर्यालले नेपालको सभ्यता, संस्कृति र परम्परा स्वयं आरोग्यको जीवनदर्शनमा आधारित रहेको उल्लेख गर्दै हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह–अस्तित्व नेपाली जीवनशैलीको मूल आधार रहँदै आएको बताए।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया