काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यद्यपि, घोषित रकममध्ये कति अनुदान र कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) हुने भन्ने स्पष्ट पारिएको छैन।

नेपालले भारतसँग कुल २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। त्यसमा १ खर्ब भारु अनुदान र अर्को १ खर्ब भारु सहुलियतपूर्ण ऋण उपलब्ध गराउन प्रस्ताव गरिएको थियो। भारतले भने नेपालले प्रस्ताव गरेको रकमभन्दा बढी सहयोग घोषणा गरेको हो।

नेपालले माग गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवामा बाढीपछि भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको थियो। त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग मागिएको थियो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुन आयोजनाका लागि कति रकम उपलब्ध गराउने भन्नेबारे खुलाएका छैनन्।

भारतले यसअघि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट (एलओसी) घोषणा गरिसकेको छ। तर, तीमध्ये ठूलो परिमाणको रकम उपयोग हुन सकेको छैन। नेपालले दुई वर्षअघि अर्थात् सन् २०२४ मा ९० करोड अमेरिकी डलर बराबरको एउटा एलओसी रद्द गरेको थियो।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरिएको थियो। सन् २०१५ को विनाशकारी भूकम्पपछि उक्त सहयोगलाई पुनर्निर्माण कार्यक्रमसँग जोडिएको थियो।

त्यसअन्तर्गत २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर ऋणका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको थियो। अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ७५ करोड डलरमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो।

भारतको एलओसीअन्तर्गत सञ्चालित आयोजनामा कम्तीमा ७५ प्रतिशत भारतीय वस्तु तथा सामग्री प्रयोग गर्नुपर्ने प्रावधानका कारण घोषित ऋणको ठूलो हिस्सा खर्च हुन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। स्रोतका अनुसार भारतले यसअघि प्रतिबद्धता जनाएको रकममध्ये करिब ८५ अर्ब भारु बराबरको ऋण उपयोग हुन सकेको थिएन।

नेपालले सन् २०२४ मा पुरानो ९० करोड अमेरिकी डलरको एलओसी रद्द गरेपछि त्यसमा करिब १० करोड डलर थपेर १ खर्ब भारु बराबरको नयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार भारत नयाँ एलओसी उपलब्ध गराउन सकारात्मक देखिए पनि अनुदान रकम भने नेपालको प्रारम्भिक प्रस्तावभन्दा कम राखेर सहमति भएको हो। यद्यपि, नयाँ घोषणाको ऋण र अनुदानसम्बन्धी विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com