काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका हुन्।
यो राजीनामा नेपाली कांग्रेसका मन्त्रीहरूबीच देखिएको असन्तुष्टिको पछिल्लो कडी हो। यसअघि गत शुक्रबार कांग्रेसबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए। सोही दिन मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरेका थिए।
यसबीच, मुख्यमन्त्री लामा आफैं पार्टीभित्रको नेतृत्व गुमाएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र प्राप्त भएको छ। कुल ३७ जना सांसद रहेको दलमा लामाविरुद्ध बहुमत पुगेसँगै उनी संसदीय दलको नेता पदबाट हटेका छन्।
संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको केही दिनमै मत विभाजन भएको हो। यससँगै कांग्रेस नेतृत्वको सरकार तथा दलभित्रको शक्ति सन्तुलन थप संकटमा परेको छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया