एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने देशहरूलाई लक्षित गर्दै नयाँ कडा घोषणा गरेका छन्। उनले इरानसँग कारोबार गर्ने कुनै पनि मुलुकमाथि संयुक्त राज्य अमेरिकासँग हुने सम्पूर्ण व्यापारमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइने बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा इरानसँग व्यापार गर्ने देशले अमेरिकासँगको सबै व्यापारमा तत्काल लागू हुने गरी २५ प्रतिशत कर तिर्नुपर्ने उल्लेख गरेका छन्। उनले यो निर्णय अन्तिम भएको समेत स्पष्ट पारेका छन्।
इरानमा सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला आएको ट्रम्पको यो घोषणालाई तेहरानमाथि थप दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ। ट्रम्पले इरानको विषयमा अझ कडा र प्रभावकारी विकल्पहरूबारे पनि विचार भइरहेको संकेत दिएका छन्।
इरानका प्रमुख व्यापारिक साझेदारमा चीन अग्रस्थानमा रहेको छ भने त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत रहेका छन्। ट्रम्पको घोषणाले यी देशहरूसहित इरानसँग व्यापार गर्ने अन्य मुलुकहरूको रणनीतिमा कस्तो प्रभाव पार्ने भन्ने विषय अन्तर्राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया