काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष र बलिदानको मूल उद्देश्य सुशासन, प्रभावकारी सार्वजनिक सेवा, तीव्र विकास तथा दिगो शान्ति र समृद्धि रहेको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको यही आकाङ्क्षा पूरा गर्न राज्य संयन्त्रलाई समयानुकूल, जनउत्तरदायी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।
उनले सक्षम र जिम्मेवार कर्मचारीतन्त्रले मात्र राज्यका उद्देश्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने उल्लेख गर्दै स्वप्रेरित, अनुशासित, नैतिकवान, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। आधुनिक प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्न सके लोकतान्त्रिक शासनप्रतिको जनआस्था अझ सुदृढ हुने उनको धारणा थियो।
राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको संरक्षण र सुदृढीकरण अझै आवश्यक रहेको बताए। लोकसेवा आयोगप्रतिको जनविश्वास र यसले अवलम्बन गरेको निष्पक्ष प्रणालीकै कारण मेहनती र प्रतिभाशाली युवाहरूले सार्वजनिक सेवामा आफ्नो भविष्य देख्न सकेको उनले उल्लेख गरे।
विगतका अनुभव, ज्ञान तथा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै आयोगले आफ्नो कार्यसम्पादनलाई अझ परिष्कृत र आधुनिक बनाउनुपर्नेमा उनले जोड दिए। सरकारी सेवाका लागि योग्य र सक्षम जनशक्ति छनोट गर्ने प्रमुख संवैधानिक निकायका रूपमा लोकसेवा आयोगले समयसापेक्ष परीक्षण प्रणाली र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।
कर्मचारी छनोट, बढुवा तथा परामर्शका क्षेत्रमा आयोगले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा पनि निष्पक्षता, पारदर्शिता र विश्वसनीयतालाई कायम राख्दै आफ्नो प्रतिष्ठालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
उनले आयोगको कार्यक्षेत्र विस्तार भएसँगै यसको कार्यसम्पादनलाई थप वैज्ञानिक, प्रविधिमैत्री, व्यवस्थित र गुणस्तरीय बनाउने चुनौतीसमेत बढेको बताए। वार्षिकोत्सवलाई विगतका उपलब्धिको समीक्षा र भावी रणनीति तय गर्ने अवसरका रूपमा उपयोग गर्न उनले आयोगलाई सुझाव दिए।
साढे सात दशकभन्दा लामो इतिहासमा योग्यता, निष्पक्षता र स्वच्छतालाई मूल आधार बनाएर आयोगले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया