काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेवा, करुणा, प्रेम, मानवता र शान्तिलाई नेपाली समाजको मूल जीवनदर्शनको रूपमा व्याख्या गर्दै मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै हुन नसक्ने बताएका छन्।

रोटरी क्लब अफ भादगाउँद्वारा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताको संस्कृतिले मात्र शान्तिपूर्ण र सभ्य समाज निर्माण गर्न सकिने बताए।

‘सेवा, करुणा, प्रेम, मानवता र शान्तिको अभ्यास नै नेपाली जीवनदर्शनको आधार हो,’ उनले भने, ‘यी मूल्यलाई व्यवहारमा उतार्दै विश्व शान्ति, मानव कल्याण र समृद्धिका लागि समर्पित हुनु हामी सबैको साझा दायित्व हो।’

राष्ट्रपति पौडेलले निस्वार्थ भावले गरिने मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानवहितका क्षेत्रमा रोटरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

उनले समाजसेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित रोटरी अभियानले विश्वभर सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको उल्लेख गर्दै समाज रूपान्तरणमा संस्थाका सदस्यहरूको योगदान उदाहरणीय रहेको बताए।

संयुक्त राष्ट्रसंघको चार्टर निर्माण प्रक्रियामा रोटरीले पुर्‍याएको ऐतिहासिक योगदान, विश्वव्यापी पोलियो उन्मूलन अभियान तथा प्रतिभाशाली युवालाई उच्च शिक्षाका लागि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमको पनि उनले विशेष प्रशंसा गरे।

राष्ट्रपति पौडेलले नेपाल र भुटानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामुदायिक विकासका क्षेत्रमा रोटरीले सञ्चालन गरेका कार्यक्रमहरू सामाजिक रूपान्तरणका दृष्टिले महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा रोटरीको विकास र विस्तारमा योगदान पुर्‍याएका १४ जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com