काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाललाई सार्वजनिक रूपमा प्रश्न गरेका छन्— ‘किन नतिरेको जरिवाना?’

शनिबार विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमा गणतन्त्रको प्रशंसा गर्दै एक स्टाटस लेखेका थिए। उक्त स्टाटसमा कमेन्ट गर्दै मेयर बालेनले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अरू सबै ठीक छ, म चाहिँ सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा होइनन्। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईंहरूले चाहिँ किन नतिरेको जरिवाना?’

रिमालले आफ्नो स्टाटसमा गणतन्त्रले मात्र पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी रूपमा जरिवाना तिराउने हैसियत दिन सक्ने उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका, शताब्दीयौंदेखि शासन सञ्चालन गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काट्न सके। यही हो गणतन्त्रको शक्ति।’

तर, यही स्टाटसमा मेयर बालेनले एमालेको पुरानो जरिवानाको विषय उठाउँदै प्रश्न गरेका हुन्।

गत मंसिर ७ गते काठमाडौंको दरबारमार्ग क्षेत्रमा एमालेलाई जनप्रदर्शनका क्रममा अव्यवस्थित रूपमा फोहोर फैलाएको भन्दै काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। तर, महानगरका अनुसार एमालेले हालसम्म उक्त जरिवाना तिरेको छैन। यही विषयमा कटाक्ष गर्दै बालेनले रिमाललाई सार्वजनिक रूपमा प्रश्न गरेका हुन्।

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com