- सौरभ भण्डारी
काठमाडौँ । भनिन्छ, मिडिया समाजको ऐना हो। समाज जस्तो छ, त्यसको तस्बिर जस्ताको त्यस्तै मिडियामा देखिनुपर्ने हो। तर, समाजको विकृतिको विरुद्ध पहरेदारी गर्ने जिम्मेवारी पाएको मिडिया क्षेत्रमा आफैं पछिल्लो समय सत्यभन्दा सनसनीलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
‘क्लिकबेट’ शीर्षक, अतिरञ्जित प्रस्तुति, अपुष्ट समाचारको प्रवाह, र सामाजिक सञ्जालमा ‘भाइरल’ हुने प्रतिस्पर्धाले पत्रकारिताको नैतिक मूल्यहरूलाई चुनौती दिइरहेको छ।
मिडिया नै अदालत बन्न खोज्ने प्रवृत्ति
पछिल्लो समय केही मिडिया संस्थाहरू निष्पक्ष समाचार रिपोर्टिङको सट्टा ब्यापारिक बार्गेनिङको माध्यम बन्न थालेका छन्। खोज पत्रकारिताको नाममा एकातिर मिडिया उद्योग अदालत बन्न खोजिरहेका छन् भने अर्कोतिर पत्रकारहरू आफैं न्यायाधीश बन्ने, कुनैपनि ब्यक्तिलाई दोषी करार गरेर सार्वजनिक दबाब सिर्जना गर्ने र व्यवसायीक प्रतिष्ठानहरुलाई आर्थिक वा राजनीतिक लाभका लागि ब्ल्याकमेल गर्ने प्रवृत्ति मौलाउदै गएको छ।
व्यवसायी वा राजनितिज्ञहरुलाई लक्षित गरेर तोडमोड गरिएको तथ्यरहितको भिडियो रिपोर्ट बनाइन्छ। जसको मुख्य उद्देश्य सत्यलाई उजागर गर्नुभन्दा पनि सम्बन्धित पक्षलाई दबाबमा पारेर स्वार्थ सिद्द गर्नु देखिन्छ।
अहिलेको पत्रकारिताले समाज र समाचारको उद्देश्यलाई धुमिल पारिरहेको छ। कुनै पनि समाचारको लक्ष्य समाजलाई सही सूचना दिनु, जनतालाई सचेत बनाउनु र शासन प्रशासनलाई उत्तरदायी बनाउन प्रेरित गर्नु हो। तर, अहिलेको डिजिटल पत्रकारितामा यस्ता उद्देश्यभन्दा पाठक, दर्शक र श्रोताको ध्यान तान्ने प्रवृत्ति बढ्दै गएको छ। पत्रकारिताका आधारभूत सिद्धान्तहरूलाई बेवास्ता गर्दै ‘ब्रेकिङ न्यूज’ का नाममा अपुष्ट समाचार प्रसारण गर्ने प्रवृत्ति मौलाएको छ।
मिडियाको सत्यतथ्य खोजीको महत्त्व
मिडिया लोकतन्त्रको चौथो अंग मानिन्छ। लोकतान्त्रिक शासन प्रणालीमा सूचना नै नागरिकहरूको सशक्तिकरणको प्रमुख आधार हो। नागरिकहरूले सही सूचना पाए मात्र उनीहरूले आफ्नो कर्तव्य, अधिकार र निर्णय गर्ने क्षमतामा सुधार ल्याउन सक्छन्। सही सूचना पाउने अधिकारलाई संविधानले नै प्रत्याभूत गरेको छ।
मिडियाको प्राथमिक उद्देश्य सत्य खोज्नु, प्रमाणित सूचना प्रवाह गर्नु, र समाजलाई सही दिशा दिनु हो। अनुसन्धानमूलक पत्रकारिता, विशेष रिपोर्टिङ र विश्लेषणात्मक समाचारले शासन प्रणालीलाई पारदर्शी बनाउन मद्दत पुर्याउँछ। सरकारी नीतिहरूको समीक्षा, भ्रष्टाचारको पर्दाफास, सामाजिक मुद्दाहरूको गहिरो अध्ययनजस्ता पक्षहरूले समाजलाई सही जानकारी दिन मिडियाले ठूलो भूमिका खेल्छ।
तर, पछिल्लो समय मिडियाले सत्य खोज्नुपर्ने आफ्नो दायित्वलाई बिर्सिंदै व्यावसायिक फाइदाका लागि सनसनी फैलाउने प्रवृत्ति अपनाइरहेको देखिन्छ। सत्यभन्दा सनसनीलाई बढी महत्त्व दिन थालिएको छ, जसले पत्रकारिताको मौलिक मान्यतामै प्रश्न उठाएको छ।
सनसनी पत्रकारिताको हावीपन
आजको समयमा ‘ब्रेकिङ न्यूज’ को हतारो, क्लिकबेट शीर्षक, भ्रामक समाचार, अतिरञ्जित प्रस्तुति र नाटकीय दृश्य प्रयोग गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। कतिपय समाचार च्यानलहरूमा प्रस्तोताहरुले चिच्याएर समाचार प्रस्तुत गर्ने, हल्का विषयलाई गम्भीर बनाउने तथा बहस कार्यक्रमहरूमा समेत अतिथिलाई अपमानजनक रूपमा प्रस्तुत गर्ने गरेका छन्।
भाइरल’ बन्ने चाहाना र ‘ब्ल्याकमेलिङ’ गर्ने प्रवृत्तिले सनसनी पत्रकारिता नेपाली मिडिया उद्योगमा हाबी भएको देखिन्छ। समाचारको सत्यतथ्य पुष्टि गर्नु भन्दा पहिले नै त्यसलाई ‘सेन्सेशनल’ बनाउने प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ अगाडि बढाएको छ। त्यसैको प्रभावले नै सत्यतथ्यमा आधारित समाचार निकै कम बिक्नेगरेका छन्। तर तोडमोड गरिएर सनसनी बनाएर राखिएको हेडलाइन र युट्युबका ‘ब्यानर फोटो’ तुरुन्तै भाइरल बन्ने गरेको छ।
सनसनी पत्रकारिताको मारमा औद्योगिक घराना
उद्योगपति विश्वबजारमा सबैभन्दा सम्मानित स्थान हो। उद्योगपति जसले हरेक दृस्ठिकोण बाट देशलाई योगदान दिएको हुन्छ। उद्योगले राजस्व संकलनमा मात्र होइन रोजगारीको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको हुन्छ। समग्रमा सिङ्गो देशको अर्थतन्त्र नै चलायमान बनाउन औद्योगिक क्षेत्रको सबैभन्दा ठूलो योगदान हुन्छ। तर, नेपाल मात्र यस्तो देश हो जहाँ उद्योगपति भन्नेबित्तिकै समाजले हेर्ने दृस्ठिकोण नै नकारात्मक बनेको छ। नेपालमा उद्योगपति भन्ने बित्तिकै कर छली गर्ने, भ्रष्टाचार गर्ने, कालाबजारी गर्ने भनेर परिभाषित गर्न थालिएको छ। केही सिमित उद्योगीले गलत काम गरे होलान तर एकाध ब्यक्तिहरुले त्यसो गरे भन्दैमा सबै उद्योगपति खराब छन भनेर समाजलाई गलत संदेश प्रवाह गर्नु सनसनी मिडियाको उपलब्धि हो। यसले नेपाली औद्योगिक क्षेत्रमा लगानी गर्नेहरुलाई निरुत्साहित गर्दै गएको देखिन्छ। यो प्रवृत्ति नरोकिए निकट भविष्यमै देशको अर्थतन्त्र टाट पल्टिन सक्छ।
सकारात्मक पत्रकारिताको आवश्यकता
मिडिया उद्योगले आफ्नो नैतिक जिम्मेवारी बहन गर्दै सत्यनिष्ठ पत्रकारिता कायम राख्नुपर्ने आवश्यकता छ। समाचार सन्तुलित, तथ्यमा आधारित र अनुसन्धानमूलक हुनुपर्छ। सनसनी भन्दा सत्य समाचारलाई प्राथमिकता दिनुपर्छ। अनुसन्धानात्मक रिपोर्टिङ् र स्रोतको सत्यापन गरेर मात्र समाचार प्रकाशन गर्नुपर्ने हुन्छ। पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै समाचार प्रस्तुत गर्नुपर्छ, ताकि नागरिकहरूले सही सूचना प्राप्त गर्न सकून्।
मिडिया समाजको ऐना हो। सत्य पत्रकारिता कमजोर भएमा लोकतन्त्र पनि कमजोर हुन्छ। मिडियाले आफ्नो नैतिक जिम्मेवारी बहन नगर्ने हो भने समाजमा अन्योलता बढ्न सक्छ। सही पत्रकारिता भनेको केवल समाचार सम्प्रेषण मात्र होइन, समाजलाई सही दिशा निर्देश गर्ने सशक्त माध्यम पनि हो। सत्यको खोजी गर्ने कि सनसनी फैलाउने भन्ने निर्णय मिडिया उद्योगका सञ्चालकहरू, पत्रकारहरू र आम पाठक-प्रेक्षकहरूकै हातमा छ।
यदि मिडिया उद्योगले आफ्नो मौलिक धर्म बिर्सेर केवल व्यवसायिक लाभको लागि सनसनीपूर्ण पत्रकारिता गर्ने हो भने यसको दीर्घकालीन असर समाज, राजनीति र आम नागरिकमा पर्नेछ। तर यदि पत्रकारिता सत्यको खोजीमा केन्द्रित रहन्छ भने मात्र यसले समाजलाई सही दिशा दिन सक्छ। समय आएको छ, पत्रकारिता आफ्नो मूल उद्देश्यमा फर्कने कि सनसनीलाई मलजल गर्ने भन्ने निर्णय गर्ने। मिडिया उद्योग, पत्रकार, नीति निर्माताहरू र आम नागरिकहरू मिलेर सही दिशा निर्धारण गर्न जरुरी छ।
अब प्रश्न उठ्छ – के मिडिया उद्योग सत्यताको संवाहक बन्ने कि केवल सनसनी फैलाउने माध्यम बन्ने ? निर्णय हामी सबैको हातमा छ।
- सौरभ भण्डारी आर्थिक, सामाजिक, राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछन्।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया