काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार घटेको घटनालाई गम्भीरतापूर्वक लिँदै सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका आपराधिक मानसिकताबाट निर्देशित भएको आरोप लगाउँदै उनले सशक्त कारबाहीको माग गरेका हुन्।

शनिबार बिहान नेकपा एसको कार्यालय अनुगमन तथा समाजवादी मोर्चाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले शुक्रबारको घटना योजनाबद्ध भएको र यसको पछाडि पूर्वराजा शाह नै रहेको दाबी गरे। उनले भने, “ज्ञानेन्द्र शाहको आपराधिक मानसिकता पहिले पनि देखिएको थियो, अहिले फेरि पुष्टि भएको छ। सरकार अब निष्क्रिय बस्न मिल्दैन, कडा कदम चाल्नुपर्छ।”

उनले सरकार र सुरक्षा निकायको तयारी कमजोर भएको पनि औंल्याए। “घटना भएको सूचना आएपछि पनि करिब ४०–४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु दुर्भाग्यपूर्ण हो। यस्तो संवेदनशील घटनामा सरकार गम्भीर बन्नुपर्छ,” उनले थपे।

राजधानीको मुख्य स्थानमै यति ठूलो हिंसात्मक गतिविधि हुँदा सुरक्षा संयन्त्रले समयमै प्रतिक्रिया जनाउन नसक्नु आपत्तिजनक भएको बताउँदै अध्यक्ष दाहालले सरकारले तत्काल समीक्षा गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए। “अब सरकारले दृढ निर्णय लिनुपर्छ। अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु पर्छ। ज्ञानेन्द्र शाहलाई खुला छाड्ने छुट कसैले दिन मिल्दैन,” उनले स्पष्ट पारे।

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com