नयाँदिल्ली — कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो ।

दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको एक महिना पनि नबित्दै नयाँ संक्रमितहरू भेटिएका छन् । राजधानी दिल्लीमा कोरोना संक्रमणको स्थिति दुई महिनापूर्वको अवस्थामा फर्केको छ । लगातार दुई दिनयता संक्रमण दर दुई प्रतिशतमाथि छ । एक सातायात क्रमशः होम आइसोलेनमा बस्नेहरुको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ । संक्रमणदरमा दैनिक रूपमै बढोत्तरी देखिनु चिन्ताको विषय मानिएको छ । यसअघि गत पुसमा २ प्रतिशतभन्दा माथि संक्रमणदर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरु अपनाउन थालेको थियो ।

यतिबेला दिल्लीमा मास्क लगाउन आग्रह गरिए पनि त्यसलाई अनिवार्य नियममा राखिएको छैन । मेट्रो, बस र बजार सबैलाई पूर्ण रुपमा खुलाइएको छ । अनलाइन कक्षा पूर्ण रूपले हटाएर विद्यालय र कलेज खोलिसकिएको छ । अन्तर्राष्ट्रिय उडानहरु खुलाइसकिएको छ । तेस्रो लहरको मारबाट तंग्रिन खोजेका बेला चौथो लहरको खतरा बढेर गएको छ । विद्यालायमा विद्यार्थी र शिक्षकलाई समेत संक्रमण देखिन थालेको छ । संक्रमण देखिएपछि कतिपय विद्यालय अस्थायी रूपमा बन्दसमेत गराइएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले कोरोनालाई लिएर लापर्बाही नगर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले विशेषज्ञहरूसँगको बैठकपछि सबै राज्य सरकारलाई उच्च सतर्ककता अपनाउन भनेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिल्ली, हरियाणा, केरल, महाराष्ट्र र मिजोरम सरकारलाई चिठी लेखेर कोरोनालाई लिएर विशेष तयारी र सतर्कता अपनाउन भनेको छ ।

 

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com