निर्मल घिमिरे, बिचार/आलेख


आज भन्दा करिब बीस बर्षअघी नेपाली समुदायको जापानमा उपस्थिती करिब ५ हजारको हाराहारीमा रहेको थियो । अहिले २०२२ को प्रथम चौमासिक अवधी सम्मको तथ्याङ्क हेर्ने हो भने विद्यार्थी , पेसा-ब्यवसाय एवं आश्रीत लगायत गरेर कुल ९७ हजार भन्दा बढी नेपाली जनासमुदाय जापानमा रहेको छ । उक्त जनसङ्ख्या मध्ये १८ देखी ५० बर्ष उमेर समुहका जनसङ्ख्या ८७ प्रतिशत रहेको छ । जुन उमेर समुह ‘सक्रिय उमेर समुह’ अन्तरगत पर्दछन् । जापानमा नेपालीहरुले भोग्दै आएका समस्याहरु मध्ये एक अत्यन्तै घातक अनि डरलाग्दो मनोसामाजिक समस्या भनेको ‘आत्महत्या’ हो । बर्तमान परिप्रेक्षमा प्रत्येक महिना जसो जापानमा नेपालीहरुको आत्महत्याको समाचार आइरहन्छन् जसको न्युनिकरणको निमित्त निर्मल घिमिरेले जापानबाट लेख्नु भएको ‘आत्महत्या न्यूनीकरण’ सम्बन्धी बिचार/आलेख ।

 

के हो आत्महत्या ?

अङ्ग्रेजीमा सुसाइट भनिने यो शब्द ल्याटिन भाषाको ‘सुसाइदेरे’ को विकसित रुप हो । जसको अर्थ – आफैले आफैलाई मार्नु या खत्तम गर्नु भन्ने हुन्छ । आत्महत्या अरुले सुन्दा खासै मतलब नगरिएता पनि यो एक अत्यन्तै घातक विषय हो । कसले कतिबेला कस्तो अवस्थामा आत्महत्या गर्छन, त्यो एकिन गर्न सकिदैन तर यो एक मनोसामाजिक समस्याको एक उच्चतम बिन्दु हो। हाम्रो समाजमा आत्महत्यालाई लाचारिपनको संज्ञा दिने गरिन्छ जुन सरासर गलत नजीर हो। साइकोलोजी बिज्ञानले आत्महत्यालाई लाचारिपन भनेर स्वीकार्दैन । यो त मनोसामाजिक, जैविक एवम् सांस्कृतिक कारणहरुले सिर्जना गर्ने एक प्राणघातक समस्या हो।

बिश्वमा आत्महत्याको अवस्था

बिश्वमा औसत करीब ८ लाख भन्दा बढी मानिसहरुले प्रत्येक बर्ष आत्महत्या गर्ने गरेका छन । डब्लु. एच. ओ. ले २०२१ मा सार्वजानिक गरेको तथ्याङ्क अनुसार बिश्वमा ७ लाख ३ हजार ६ सय ८१ जनाले आत्महत्या गरेको देखाउछ भने सो सङ्ख्याको बीसगुणा बढी मानिसहरुले आत्महत्याको प्रयास गर्ने गरेको कुरा उल्लेख छ । बिश्वमा १५ देखी १९ बर्ष उमेर समुह (टिन एज्) का किशोर किशोरीहरुको मृत्यु को मुख्य चौथो कारण आत्महत्या रहेको देखिन्छ ।

सन् २०२१ मा लोसेथो नामक देशका जनताले सबै भन्दा धेरै आत्महत्या गरेको तथ्यांकले देखाउँछ। जसमा एसियाली मुलुक दक्षिण कोरिया चौथो र श्रीलङ्का आठौ स्थानमा रहेको छ । केहि बर्ष पहिले हाम्रो देश नेपाल टप २० औं मुलुक भित्र थियो भने अहिले यसमा ठुलो सुधार आएको देखिन्छ । बिश्वमा बिस सेवन, झुण्डिने र आत्मदाह मुख्य ३ तरिकाले आत्महत्या गरेको कुरा तथ्यांकले देखाउँछ। यो हरेक बर्ष परिवर्तन भाइरहन्छ, किनकि आत्महत्या भनेको कसले कतिबेला कहाँ गर्छ भन्ने यकिन नै हुँदैन । यो परिस्थितिले निम्त्याउने भएको कारण सिर्जना हुने परिणाम हो ।

सन् २०२१ मा नेपालको रोजगार प्रबर्द्धन बोर्डले जारी गरेको प्रतिवेदन अनुसार बिदेशमा मृत्यु भएका नेपालीहरु मध्ये १० दशमलव ४ प्रतिशत मृत्यु आत्महत्या को कारण भएको कुरा उल्लेख गरेको छ ।

 

जापानमा आत्महत्याको अवस्था

केहि बर्ष अगाडिको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्नेहरुको जापान बिश्वकै टप पाचौ देश थियो । २०२१ मा जापान टप १८ औ स्थानमा रहेको देखिन्छ । जहाँ २१,९३८ जना मानिसले जापानमा आत्महत्या गरेका थिए । जसको मुख्य कारण आर्थिक समस्यासँग जुध्न नसकेको कारण आत्महत्या गरेको कुरा उल्लेख छ । साथै जापान ‘रुल ओरिएण्टेड कण्ट्री’ भएको कारण यहाँ सरकारले तोकिदिएको नियम अक्षरस पलाना गर्दछन र सामाजिक रितीका साथै बालिग हुनासाथ घरपरिवार बाट अलग्गै रहने परम्पराले गर्दा सम्पुर्ण जिम्मेवारी बालिग हुनासाथ स्वयंले मुकाबिला गर्नु पर्ने कारण मानिसमा एक किसिमको छटपटी पैदाहुने गर्दछ । जसलाई कसैले सहज रुपमा लिन्छन भने कसैले ह्याण्डल गर्न सक्दैनन् । अर्को कुरा धेरै जापानीजहरु अविवाहित रहेका छन । बाबु आमा अनि आफन्तहरु सँग पनि टाढा हुनु अनि, अविवाहित एक्लो जिवन जिउनु पर्दा मनको अन्तर-कुन्तर भावनाहरु सेयर गर्न पाएका हुँदैनन् । केवल क्यारियर बनाउन कै लागी काम-काम भन्दै दगुरिरहेका हुन्छन अधिकांश जापानीजहरु । सरकारले प्रशस्त खेलकुदका सामाग्री, खेलमैदान, मनोरन्जन स्थल, पार्क , इत्यादी बनाइदिएका भए तापनी सो को सदुपयोग कमैले गरेको देखिन्छ। बिहान सबेरै उठ्यो , काममा दगुर्यो, राती अबेर पसल बाट खाना बोकेर आयो, रक्सी पिएर आलर्म अन गरी सुत्यो , भोली पल्ट उठ्यो पुन उहि तालिकाको ब्यस्त जिन्दगी । यसले पनि मनको भावना सेयर गर्न नपाउदा धेरै जापानीजहरु एक्लै गुनगुन गुनगुनाउदै र एक्लै आफै हास्दै हिडिरहेका हुन्छन ।

मनको भावाना प्रस्फुटन गर्ने वातावरण नहुँदा उनिहरुमा मनोसामाजिक समस्याका लक्षणहरु देखा पर्ने गरेको छ । सो कुरालाई उचित सम्बोधन समयमै गर्नमा चुक्दा आत्महत्या सम्मको उच्चतम बिन्दुमा पुगेर बिस्फोट भएको सर्वेक्षणले देखाएको छ।

 

जापानमा नेपालीहरुको आत्महत्याको मुख्य कारण

कुनै पनि मानिस खास यही कारणले गर्दा मात्र आत्महत्या गर्छ भनेर किटान गर्न सक्ने अबस्था छैन् तर पनि निम्नानुसार समस्याहरुको यथोचित ब्यबस्थापन हुन नसक्दा भने नेपालीहरुले यस बिरानो भुमिमा आफ्नो प्राण आफैले लिइरहेका छन । जस्तै: नेपालबाट आउँदाको बोझिलो खर्च र सो लाई सोध भर्ना गर्न नसक्नु को पिडा, भाषाको ज्ञानको कमी ले दैनिक जिवनमा आइपर्ने विविध समस्याका साथै सो ले निम्त्याउने दिर्घकालिन र अल्पकालिन प्रभाव, आर्थिक दायित्व बढि तर त्यसको तुलनामा आम्दानि कम, अनैतिक सम्बन्ध र सो ले निम्त्याउने तत्कालिन या दिर्घकालिक प्रभाव, लिभिङ टुगेदरको बढ्दो प्रचलन र सो बाट नेपाली समाजमा पर्न सक्ने असहज परिसथिति, नेपालमा हुँदा शारिरिक रुपमा कडा मेहनत नगरेकाहरु यहाँ आउनासाथ अत्यन्तै कडा मेहनत गर्नु पर्दा हुने तनाव, काम या पेशा ब्यबसाय नगरि जिवन धान्न सकिन्न तसर्थ सो समस्या बाट मुक्त हुनका लागी चाहीने बढ्ता काम गर्नै पर्ने बाध्यता र सो बध्यताले निम्त्याउने अनिन्द्रा, थकान एवम् उच्च तनाव , नेपालमा हुने नातेदारले पनि पैसा कै रुखमा चडे जसरी ह्यान र त्यान सामानको डिमाण्ड लिस्ट पठाउनु र उनिहरुका कुरा नकार्न पनि नसक्नु अनि यथार्थमा र सो लाई पुर्ती गर्न असमर्थ हुनु । वैवाहिक जिवनमा सुमधुरता नहुनु, संगै बस्ने साथीभाइ एवं परिवारका सदस्यहरु बिचको बिमेलता , आफन्त तथा नातेदारहरुले पनि अरु सँग तुलना गरेर “फलानोले जापान गएर यत्तीका प्रगती गरिसक्यो, तैले केहि गरीनस” भनेर रात दिनको दन्त-बजान, आफु भन्दा बढी प्रगती गरेकातिर हेरी हिनताबोध गरी केहि गर्न सकिन मैले भन्ने निर्ह्य सोच, ड्युटी र बेफुर्सदले गर्दा साथीभाइहरु सँग यथोचित समय बिताइ मनोरन्जन र रमाइलो गर्न नपाउनु आदि इत्यादी कारणहरु बाट सिर्जित हुने मनोसामाजिक समस्याहरु जस्तै: झर्किने, उदासिन हुने, एक्लै बस्न रुचाउने, छटपटी हुने, निन्द्रा नलाग्ने, चिट्चिटाहट हुने, आलस्य हुने, मनमा नकारत्मक कुराहरु मात्र खेलीरहने, आफैलाई अरु भन्दा कमजोरी महसुस गर्ने, प्राय केहि कुरा बिर्सिए झैं लाग्ने , अत्याधिक मात्रामा नसालु पदार्थको सेवन गर्ने जस्ता लक्षणहरु देखा पर्दछ र सो लाई समय मै ब्यबस्थापन गर्न सकिएन भने त्यसैले कालन्तरमा आत्महत्या सम्मको रुप समेत लिन सक्छ ।

 

व्यक्तिले आत्महत्या गदैछ भन्ने कुरा कसरी थाहापाउने?

जो व्यक्तिलाई आत्महत्याको सोच छ त्यस्ता व्यक्तिहरुको भावना एकैनासको हुँदैन । उनीहरुको भावनामा विना कारण उतार चढाव आउँछ । सोचेको जस्तो भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्तसाही हुने, अस्वभाविक रुपमा दु:खी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्छ । आफूलाई योग्यताहिन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्ने बारे कुराहरु गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्यरुपमा तयारी समेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले पनि देखि सहन्नन भने म के को लागि, कसको निम्ती बाच्ने भन्ने शव्दहरु व्यक्त गरिरहेको पाइन्छ ।

यदि कुनै ब्यक्तिले बारम्बार मर्न पाए पनि हुन्थ्यो भन्ने आशय ले आत्महत्या को प्रसङ्ग निकालिरहन्छ र कुरा गरिरहन्छ भने त्यो अरु को ध्यानाकर्षण गर्नका लागि मात्र या घुर्क्याउन लाइ मात्र गरेको हो भन्नु गलत हो। उसले केहि सहयोग पाउन को लागि साङ्केतिक रुपमा आफ्नो भावना सेयर गरिरहेको हुन्छ । आत्महत्या संधै आवेगमा आएर मात्र गरिन्छ भन्नु गलत बुझाइ हो । सो ब्यक्तीले केहि समय देखी योजनाबद्ध रुपमा पुर्व तयारीहरु गरिरहेको हुन्छ । जस्तै: आत्महत्या गर्ने सामानहरु (डोरि, पोइजन्, धारिलो हतियार्, एवम् बिस्फोटक पदार्थ , प्रज्वलनशिल पदार्थ) को जोहो, उचाइ बाट झर्दा हुने सम्भावित आंकलन, पानीमा डुब्दा या द्रुत गतीको सवारी मार्फत हुँदा आउने सम्भाबित आंकलन , एवम् अड्कल इत्यादी । संगै बस्ने साथीहरुले या परिवारका अन्य सदस्यहरुले अरुले भन्दा बढ्ता फील गर्न सक्छन , कि यदी कसैले आवस्यक भन्दा बढी छटपटी गरिरहेको छ, बढी नै निराश देखिन्छ , सानो-सानो कुराहरुमा पनि आत्तीने , हड्बडाउने, चिड्चिडाहट हुने, इरिटेशन हुने, एक्लै बस्न मात्र मन गर्ने, संधै निराशाजनक मात्र कुराहरु गरिरहने, भोलीको भबिस्य पुरै अन्धकार मात्र रहेको देख्ने र आफ्नो जिवनको जहाज पुरै डुबिसकेको जस्तो अत्यन्तै आशाहिन कुराहरु मात्र गर्ने, आफ्नो स्वास्थ्यको कुनै ख्याल नगर्ने, हेलचेक्र्याइ गर्ने, आफु सँग भएको बहुमुल्य सामानहरु पनि सित्तैमा अरु लाई बाँड्ने वा मिल्काइदिने, आफ्नो सन्तान, श्रीमती, बा-आमा या प्रियजनहरुलाई कि त चाहिने भन्दा बढ्ता नै माया गर्ने कि त बढ्ता नै घृणाको भाव दर्शाउने, ‘दुनिया एक तरफ्, हम दुसारी तरफ’ जस्तो ब्यबहार देखाउने, आफुले आफुलाई संधै नकारात्मक रुपमा मात्र देख्ने, उच्च मात्रामा हिनताबोध मनमा आएको छनक देखा पर्दछ ।

कसरी सहयोग गर्ने ?

डब्लु.एच. ओ. का अनुसार सुसाइट एटेम्प्ट गर्ने मध्य ७९ प्रतिशत मानिसहरु अरुकै सहयोगमा आत्महत्या गर्न बाट रोकिएका थिए । यस बाट प्रष्ट हुन्छ कि आत्महत्या गर्न खोज्ने अधिकांश मानिसहरुलाई सानो पहल मात्र गर्न सकियो भने पनि हामीले बचाउन सक्छौ । आत्महत्याको कुराहरु बारम्बार व्यक्तिले गर्छ भने यदी व्यक्तिमा यस्तो भावनाहरु पाइएमा सङै पढ्ने , काम गर्ने , एउटै कोठामा बस्ने साथिभाइ या परिवारका सदस्यले ध्यान दिएर उनको गुनासा र समस्या प्रति कुराकानी गर्नुपर्छ । उसलाई सल्लाह सुझाव दिनु भन्दा पनि बढी उसको मनमा रहेका भावनाहरु पोख्ने वातावरणको सृजना गर्नुपर्छ । आत्महत्याको विचार वा भावना भएका व्यक्ति परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहज मान्छ सो कुरा पत्ता लगाउनु पर्छ । परिवारका सदस्यहरुले व्यक्तिलाई एक्लै छोड्नु हुँदैन । राति पनी ध्यान दिएर सुत्नु पर्छ । हाम्रो समाजमा आत्महत्याको बारेमा खुलेर कुरा गर्दा आत्महत्याको विचारलाई प्रोत्साहान मिल्छ भन्ने विश्वास छ । तर यो विश्वास गलत हो । यदी यस्ता व्यक्तिसंग राम्रोसंग कुरा गरेमा व्यक्तिलाई मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति रहेछन् भन्ने भावनाको विकास हुन्छ । त्यसपस्चात व्यक्तिलाई आफ्नो भावना सकारात्मक हुन सहयोग पुग्छ । यदी व्यक्तिले आफूलाई मार्नको लागि सामग्री नै लुकाएर राखेको छ भने त्यस्ता व्यक्ति पूर्ण जोखिममा भएको बुझ्नु पर्छ । त्यस्तो सामाग्री देखेमा सो लुकाइदिने गर्नु पर्दछ । समस्या सबै व्यक्तिलाई हुन्छ, समस्या संगै व्यक्ति आफैमा समाधानका उपाय पनि हुन्छन् । हरेक व्यक्तिलाई प्रकृतिले राम्रा गुणहरु दिएको हुन्छ। उसको राम्रो गुण अनि स्वभावहरु को प्रशंसा गर्ने । समस्यामा भएको वेला व्यक्तिको मनमा समस्या मात्र हुन्छ । आफूमा भएका राम्रा गुणको वारेमा ध्यान हुँदैन् । त्यसैले सकारात्मक रुपमा व्यक्तिलाई राम्रा गुण हेर्ने मौका दिनु पर्छ । भविष्य राम्रो छ , बाच्नुजेल किन आफ्नो शरीरलाई दुख दिने ? भन्ने भावना पैदा गराउने , आफ्नो जीवनको सबैभन्दा मिठो यादगार पलको सम्झना गर्न लगाउने, त्यो बेला तिम्रो मनमा कस्तो फिलिङ्स आको थियो जस्ता खुल्ला प्रश्नहरु गर्ने । आफु यो संसारमा भएका प्राणीहरु मध्ये सबै भन्दा सुन्दर र महत्वपुर्ण ब्यक्ती हो भन्ने कुराको बोध गराइ आफ्नो लागी भनेर सो को भित्री सुन्दरता नियाल्न अनुरोध गर्ने । यदी आफु नै नरहे पछी के उपलब्धी हुन्छ र आफ्नो यस्तो सुन्दर जिवन खेर फल्दै छौ भनेर आशा जगाउने खालका कुराहरु गर्ने। आत्महत्या पछि आउने नकारात्मक परिणामको बारेमा कुरा गर्नुपर्छ । के कारणले उसले आत्महत्या जस्तो कुरा रोजेको रहेछ सो कुराको जडमा पुग्ने कोशिस गर्ने र सो समस्या सामाधान सम्भव छ भन्ने ढाडस दिने काम गर्नुपर्छ र समस्याको समाधानका लागी मनोबिमर्शकर्ता सम्म पुग्ने वातवरण सृजना गर्ने गराउने ।

आत्महत्या बाट बच्ने उपायहरुको बारेमा राजदुताबासको अगुवाइ एवम् एन.आर.एन.ए जापान, बिभिन्न क्लब तथा सामाजिक संघसंस्थाहरुको समन्वयन तथा साँझेदारीमा आत्महत्या निवारण सम्बन्धि विषयगत मनोबिज्ञहरु सँगको अन्तरक्रिया कार्यक्रम, सचेतना मुलक जानकारी एवम् यसले पार्ने प्रभावका सवालमा चेतनामुलक सामाग्रीहरु प्रकाशन, प्रसारण गरेको छ । यदी कसैमा सो किसिमको समस्या बढी नै देखिएको छ र ऊ उच्च जोखिममा रहेको छ भने तत्काल रेस्क्यु गरी प्रभावकारी काउन्सेलिङ गर्ने काम गर्न सकेको खण्डमा जापानमा हाम्रो दाजुभाइ दिदीबहिनीहरुलाई केहि न केहि हदसम्म भए पनि आत्महत्याबाट बचाउन सकिन्छ ।

 

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com