पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा छ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेका थिए। त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए।

उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँच वर्षको सजाय सुनाइएको छ।

उक्त घटनाले पूरै पाकिस्तान स्तब्ध भएको थियो। तात्कालीन प्रधानमन्त्री इमरान खानले घटना भएको दिनलाई “लज्जाको दिन” भनेका थिए।

शवसँग सेल्फी

सामाजिक सञ्जालमा प्रकाशित भिडिओमा क्रुद्ध मानिसहरूको भिडले दियावादानागेलाई उनको कार्यस्थलबाट घिसारेर लगेको अनि प्राण जाउन्जेल पिटेको देखिन्छ।

त्यसपछि भिडले उनको शवलाई जलाइदियो।

केही मानिसले उनको शवसँग आफ्नो सेल्फी पनि खिचेको भिडिओमा देखिन्छ।

मृतककी पत्नी निलुशी दिशानायकले आफूले आक्रमणको दृश्य इन्टरनेटमा देखेको र त्यो “अत्यन्त अमानवीय” भएको बताएकी थिइन्।

कसरी भयो घटना

दियावादानागेले ईशनिन्दा हुने खालको काम गरेको अफवाह फैलिएपछि उक्त हिंसात्मक घटनाको बीजारोपण भएको हो।

उनलाई पैगम्बर मोहम्मदको नाममा प्रकाशित पोस्टर च्यातेको आरोप लागेको थियो।

तर उनको रक्षा गर्ने प्रयास गर्न घटनास्थल पुगेका उनका एक सहकर्मीले दियावादानागेले कारखानाको भवन सफाइ गर्ने क्रममा केवल पोस्टर हटाएको स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए।

सयौँ मानिस संलग्न भएको उक्त बीभत्स घटनाप्रति मानिसहरूले शोक व्यक्त गरेका थिए।

के हो ईशनिन्दा

कुनै धर्म वा ईश्वरको अपमान हुनेगरी बोल्दा ईशनिन्दा भएको मानिन्छ। पाकिस्तानमा इस्लामको निन्दा गरेको ठहर भए मृत्युदण्डको सजायसम्म हुन सक्छ।

ईशनिन्दासम्बन्धी पाकिस्तानी कानुनका अनुसार धार्मिक भेलामा अवरोध पुर्‍याउनु, समाधिस्थलमा अनधिकृत प्रवेश गर्नु, धार्मिक मान्यताको अपमान गर्नु वा जानीजानी धार्मिक स्थल नष्ट गर्नु वा दूषित पार्नु दण्डनीय अपराध हुन्।

इस्लामिक धार्मिक व्यक्तित्वविरुद्ध अपमानजनक टिप्पणी गर्नु पनि अपराध हो।

नियतवश कुरानको अपमान गर्नेलाई जेल सजाय हुने प्रावधान देशको कानुनमा सन् १९८२ मा थपियो।

सन् १९८६ मा पैगम्बर मोहम्मदको निन्दा गर्नेलाई दण्ड दिन अर्को कानुनी व्यवस्था गरियो। त्यस्तो अपराध गर्नेलाई मृत्युदण्ड वा आजीवान कारावास दिन सिफारिस गरियो।

पाकिस्तानमा ईशनिन्दासम्बन्धी आधारहीन आरोपकै कारण पनि आरोपित मानिसको चर्को विरोध र हिंसात्मक घटना हुने गरेको पाइन्छ।

अल्पसङ्ख्यक समुदायहरू प्रायः त्यस्ता आरोपको निसानामा पर्ने गरेको मानव अधिकारवादीहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com