विभिन्न शक्ति, गुट, घरानियाँ र दरबारिया भाइ–भारदार बीच तीव्र सत्ता संघर्ष चल्दा नेपालीले १८६३ को दुःखद् भण्डारखाल पर्व र १९०३ को भयावह कोत पर्व सुन्नुपर्यो। राणा शासनबाट  मुक्तभई  जनता र राजा बीच २००७ मा प्राप्त उपलब्धि १० वर्ष बढी टिकेन। सक्रिय राजतन्त्र २०३६ मा फेरि पुनसम्रचित हुँदै २०४६ मा बिदा  भयो र राजा सहितको बहुदलीय पद्धति लागू भयो। लामो समयसम्म मौका पाउँदा राजतन्त्रबाट उल्लेखनीय प्रगति भएको भए अरु विकल्प खोजिन्नथ्यो होला।  त्यसबेला संबैधानिक प्रजातन्त्रका लागि बामपन्थी र प्रजातन्त्रबादी  शक्तिहरू एकसाथ थिए। उसबेला जनताको पार्टीप्रति यस्तो विश्वास थियो कि उनले कालोलाई रातो वा रातोलाई कालो भने पनि सही मानिन्थ्यो। दुख–सुख बीच जनतालेनै हुर्काएका पार्टी नै शासन सत्तामा बसे, मिलीजुली वा एक्लै। समाजवाद, साम्यवाद र प्रतिस्पर्धी पूँजीवादका पाठ पढिन्थे, पढाइन्थे र सिद्धान्त निष्ठाको ठुलो विश्वास पनि थियो। तर उनीहरूले लामो समय राज्य सञ्चालन गर्दै जाँदा र सत्ताको रसास्वादन लिदै जाँदा गुटगत, अन्तरपार्टी वा विपक्षी बीच चरम संघर्ष बढ्दै गयो।  कुनै दिगो तार्किकता बिनै पार्टी जुट्ने र फुट्ने भय ।

फलस्वरूप माओवादी जनयुद्ध सुरु भयो र देशले भयङ्कर नोक्सानी र दुख भोग्नुपर्यो। गाउँ पहाड रित्तै र सुनसान हुँदै बस्ति अव्यवस्थित  शहरिकरण तिर  लाग्यो। द्वन्द्व बढ्दै गएपछि धेरै युवाले आफूलाई बलिदान गरे, कयौ नारीका शिर पुछिए भने धेरै आमा–बाबुको काख खाली र परिवार रित्तो भए। २०६५ मा राजतन्त्रको समेत अन्त्य भयो र उन्नत भनिने संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो। तमाम  जनता ठुला पार्टीहरुको भरपर्दो  विश्वासमा परिनै रहे। बुद्धिजीवीहरूले  आ-आफु बिभाजन हुनुको सट्टा स्वाभिमान बुद्धिजीवीका कुरा सुनेर दिगो विकासका लागि गहन छलफल चलाउनु र  राज्यलाई उचित सुझाव सहित मद्दत  गर्नु  पर्थ्यो। स्वतन्त्र रहदै रहनको सट्टा नेपालीहरूले पार्टी–पार्टीको सदस्यता लिनु आफ्नै धर्म जस्तो गर्न लागेछन्। घरपरिवार र आफन्त भन्दापनि पार्टीमा बढी विश्वास गर्ने दिन आयछन। कतिपय सिद्धान्तप्रतिको विश्वास, रहर र अवसरको खोजीमा हुँदा हुन् त बाकि कति ब्यध्यातामा परेका। सकारात्मक पक्ष भनेको  इमान्दार स्वाभिमान नेपाली बीच धार्मिक सहिष्णुता, आपसी विश्वास र सहयोगको भावना भने सधै कायम रहिनै रह्यो।

advertisement

पछिमात्र पत्ता लागेको अमेरिका, विशाल चीन, साना राष्ट्रहरू सिंगापुर र स्विजरल्याण्ड, मरुभूमिका खाडी मुलुकहरु, बिकट मानिएको नर्वे र फिनल्याण्ड, दोस्रो विश्वयुद्धको चापमा परेका जापान र जर्मनी जस्ता देशका चरम द्रुततर  विकासका नमुनाप्रति आजका युवा जानकार छन्। आफ्नु  अपूर्ण र मन्द गतिमा  भएको विकासप्रति आजका नेपाली  सचेत छन्। समयक्रममा केही उन्नति त हुने नै हुन, कुनै व्यक्तिगत कस्टबाट भने कुनै राज्यको अगुवाइमा। राणाकालीन संरचना र राजाकालीन औद्योगिक अवधारणा आजपनि लाएक छन्। लोकतन्त्रमा केहि  सडक विस्तार  भए तर ति धेरै त मापदण्ड विपरितनै संचालनमा आए। समयक्रमले जबर्जस्त सञ्चार र सूचना प्रविधिको विस्तारलाई देशव्यापी रुपमा तान्यो। तर ई-गभर्नन्स र सूचना प्रविधि बजार बिस्तारमा पूर्ण हुन बाकी नै छन्। विश्वविद्यालयहरु खुले, तर धेरै मापदण्ड विपरितनै छन्। माओवादी जनयुद्धबाट प्राप्त छुवाछूत प्रतिको अवधारणामा परिबर्तन हुनु एउटा उपलब्धि हो। तर यो त त्यो कष्टकर मूल्यको ब्याज मात्र पनि पर्याप्त भएन। एकताका पुराना धेरै नेता र पार्टीहरूले त्याग र कष्ट गरेका थिए र लाग्छ सही दृष्टिकोण र लक्ष्य पनि बोकेका थिए। बिगतका योगदान हुँदाहुँदै पनि ती मध्ये कतिपयलाई जनताले उल्टै अविस्वास गर्नु पर्ने  दिन किन आउदै गए? शायद कतिपयले उठाएका सिद्धान्त, निष्ठा र योजना  दुखी जनताको भलाइको  सट्टा  आफ्नै सत्ता स्वार्थ  केन्द्रित र  लाभ सिद्ध मुखी हुन पुगे होलान ।

मुलुकलाई औद्योगिकीकरण गर्नु पर्नेमा उल्टै  बिगतमा खुलेका उद्योगहरू समेत बन्द गरिए। विश्वविद्यालय, शैक्षिक, बैङ्किङ र  व्यावसायिक  सहित प्रशासकीय क्षेत्रहरु समेत  भातृ संगठन मार्फत आफ्ना  स्वार्थ पूर्ति खातिर परिचालित देखियो। मेरिटोक्रेसी र प्रतिभामा आधारित व्यवस्थाको बदला जताततै जनशक्ति  पलायनको अवस्था आयो। सत्तामा आशक्त नभएका साधक, स्वतन्त्र र स्वाभिमान बुद्धिजीवी र न्यायप्रेमी जनताका खबरदारी, सुझाव, चिन्ता र रोदनमा वास्ता गरिएन। जनताले दिनप्रतिदिन संस्थागत भ्रस्टाचार, बेरोजगारी र महंगी बढेको मशुस गर्न पर्यो। सुशासन र सुरक्षाको  महसुश भएन – देखियो खाली उजाड पाखा, बिदेशीय सन्तान र बलवान पाखुराहरु र रित्ता भय घर परिवार – बढ्दै गए अस्पतालका बेडहरूमा, एक्ला अभिभावकहरू। यी गम्भीर र महत्त्वपूर्ण समस्याहरु समाधान गर्नुको सट्टा उल्टै सामाजिक सञ्जाल समेत बन्द भए। यी र यस्तै अनेकन चरम असन्तुष्टिनै जेन्जी विद्रोहका कारण बने। परिणाम अत्यन्त नै पीडादायी भए। तिनका आवाजहरु सुशासन होस् तर भ्रष्टाचार नहोस् भन्नेमा थिए। सुन्दर सपना बोकेका सन्तानहरूको भावना माथि  प्रयोग गरिएको बलका कारण भएको युवाहरूको शहादत र रित्तिएका काखको मूल्य तिर्न र बिर्सन नसकिने बने।

सदिऔ र दशकौको अनुभव बोकेका लोकतन्त्रवादी पार्टी, संगठन र संस्थाहरूले  स्थापित गर्नु पर्ने राजनीतिक र सामाजिक  संस्कृति भनेको सुशासन, आपसी आदरभाव, सद्भाव, भ्रष्टाचारमुक्तता र सिद्धान्तनिष्ठ समाज निर्माण हो। सुसंस्कृत नेपली पूर्ण रुपमा तेस्तो देख्न चाहन्थे। तर जिम्मेवार अगुवाहरूबाट त्यस्तो सकारात्मक परिणाम देखिएन। पछिल्ला गठबन्धन र बेलाबेलाका मेल–बेमेलहरूको अवस्था हेर्दा कता गए होलान् साम्यवादका पाठशाला र के भए होलान् प्रतिस्पर्धी पूँजीवादका सिद्धान्त भन्ने टडकारा प्रश्नहरू उठ्छन्। सिद्धान्तनिष्ठ संगठक, शिक्षाविद् र जनताले प्रश्न गर्दैछन्, कस्तो हुन्छ जनवादी शिक्षा भनेको र कसरी हुन्छ राष्ट्रिय पूँजीको विकास र संरक्षण ? सत्तामा बस्नेहरूलाई उपचार र सुविधाभोगका असिमित राज्यकोष प्राप्त हुदैमा हट्दैन गरिब जनताको रोग र भोक। आश्वासन र बाँडियाका सपनाले मात्र बन्दैनन् सुकुम्बासीका घर–घडेरी। आउदैन रोजगारीका अवसर बन्द गरिएका उद्योगबाट।

आधुनिक कृषि, फलफूल, पशु, बन, खनिज, उर्जा, सौर्य, सिँचाइ, पर्यटन जस्ता सम्भावित क्षेत्रमा अनुसन्धान द्रुतगतिमा अगाडि बढाउन र सम्भाव्यताको उजागर गर्न पर्छ समुन्नत  र आधुनिक औद्योगिक राष्ट्रका लागि। राष्ट्र बनाउन, उन्नतिको मार्ग प्रशस्त गर्न सक्ने क्षयवान व्यक्तिहरूलाई अग्रपंक्तिमा काम गर्न दिनु पर्छ। मेरिटोक्रेसी ध्वस्त पार्दै तिनलाई अग्रगमनको बाटोमा छेकेर मुलुक बन्दैन। संघ–संस्था चलाउने उच्चतम क्षमता तेस्को अनुभवी योग्यतम सदस्यसँग हुन्छ गुट–उपगुट प्रति वफादार कोही अर्कैसँग होइन। लोकतन्त्रमा निश्चित संगठनप्रति वफादार नहुनेहरूको पनि उत्कृष्ट क्षमता हुन्छ भन्ने बुझ्नु पर्छ र तिनलाई राष्ट्र निर्माणको मूल दायित्वबाट निषेधित गर्नु हुँदैन, सुनौलो राष्ट्रको भविष्य निर्माणका लागि। यी र यस्ता सयौ प्रश्नहरूको जिम्मेवार जवाफ सहित समाधानका लागि तयार हुनुपर्ने छ – सच्चा लोकतन्त्रवादीले आफुलाई जनताका समस्याका समाधानका लागि दिर्घकालिन  योजना  प्रमाणित गर्न।

हाम्रो गौरव हो कि नेपाल कहिल्यै उपनिवेश भएको छैन र यसले कुनै युद्धमा भाग लिन पनि परेन। प्राग्गिक दृष्टिले बुझ्न नसकेको जटिल प्रश्न र उत्तर त सच्चा राष्ट्रवादको अर्थ हो। आफू सत्तामा हुँदा सबै ठिक ठान्ने र आफू नभए मित्रराष्ट्र तथा नयाँ विचारहरूलाई संकाको घेरामा राख्दै अरूलाई अदृश्य तागतबाट उब्जिएका अबुझ हुन वा राष्ट्रबादी होइनन  कि भनी भ्रम सिर्जना गरी जनतालाई अन्धकार र गुमराहमा धकेल्नु अनुभवि नेतृत्व र कसैको पनि कर्तव्य होइन होला। पक्कै पनि जनतालाई सूचना प्राप्त गर्ने पूर्ण अधिकार छ र उनले आफै सोच्न, विश्लेषण गर्न तथा आफ्नै राष्ट्रको मायामा दृढ हुनुपर्छ। कर्मठ नागरिक बिदेशी भूमिका रोजगारमा निर्भर हुनु  र आफ्ना अभिभावकको काख अनि आगन छोड्दै सिर्जनशील, उत्कृष्ट युवा अवसरको खोजीमा ब्रेन–ड्रेनतिर धकेल्लिनु  सक्षम रास्ट्रको  पहिचान होइन।

आजका अभाबिभावक, सामर्थ्यवान नेपाली र युबाहरुको  आवाजले भन्छ कि युवा विद्रोह,  तिनका सोच र  माग नेपाल राष्ट्र  र  महत्त्वपूर्ण भविष्यको खातिर हुन। अरु केही होइन, मात्र भ्रस्टाचार रहित, न्यायपूर्ण र सुसंस्कृत समाजका लागि हो भन्ने देखिन्छ। हरेक  अभाबिभावक र राष्ट्रको भबिस्य, युवाको योगदानमै भर पर्ने हो। उन्नत नेपालको उपलब्धि केवल कुनै निश्चित तह र तप्लाका लागि मात्र सिमित हुने होइन। आजका युवा भोलिका कर्णधारलाई अन्यथाको अर्थमा व्याख्या गरिए त्यो इतिहास सरासर व्यर्थ र गलत हुनेछ।  मानव विकासको क्रममा, यदि उनीहरूलाई उचित शिक्षा, मार्गदर्शन र नवीन अवसर दिइन्छ भने नयाँ पुस्ता अझ  बढी चनाखो  र सक्षम बन्न सक्छ र बन्नु पनि पर्छ। तिनै हुन भोलिको  भबिस्य भन्ने बुझ्न पर्छ। यही सिद्धान्त राष्ट्र निर्माण र राजनीतिमा पनि लागू हुन्छ होला।

यथार्थमा जनता र आजका युवा नयाँ विचार, शक्ति र हिम्मत माथि विश्वास, आशा र भरोसा सहित आफ्ना निश्चित सर्त प्रकट गरिरहेछन् भने, उनीहरूले पुरानालाई सही अर्थमा ढाकछोप र लिपपोत बिना सच्चिने वा थन्किने विकल्पप्रति समेत सचेत गराउँदै देखिन्छन्। यो समाजप्रति उत्तरदायी सबै सामाजिक सेवक र राजनीतिक नेतृत्वका लागि एउटा सुवर्ण अवसर पनि हो। बिगत शाहकाल र राणाकालदेखि गणतान्त्रिक नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्था, थिचोमिचो, असमानता, अहंकार, कुसासन र भ्रष्टाचारको मूल्यांकन गर्दै, जनता भोलिका राजनेतालाई मालिक होइन, सेवक बन्न सुझाब दिदैछन्। उनीहरू एक सुसंस्कृत, उन्नत र उद्यमशील नेपालको परिकल्पना गर्छन्। जनता स्पष्ट खबरदारी गर्दैछन् कि आजको माग भ्रष्टाचारमुक्त र रोजगारीयुक्त सुशासन मात्र एक विकल्प हो। जनताको रोजाइ तेही हुनेछ जो यस भावनालाई कदर र कार्यान्वयन गर्न विश्वासिलो आधार सहित जनता सामु खडा हुँदैछन्।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com