• (सामाजिक सद्भावका लागि एक वैचारिक गन्थन)
  • अध्यापक, नारायण नेपाल

‘मनसुनको भनसुनमा केही त, यार, छ यो,

साउनमा जुधे नजर भदौमा प्यार भयो !’


माथिको बोलको गीत कथ्ने बेला साउन झुमेर आएको र पिरतीको फसल सम्झाएको कुनै नग्मा रेडियोमा घन्केको यस पङ्क्तिकारको स्मरण अनि तपशीलको बेतुके बठ्याइँ आजको यस वैचारिक खुराकको उपज बुझिदिन सम्बन्धित सबैमा जानकारी आग्रह छ ।

“ए तिमी पनि व्रत बस्ने ? केटो चैँ बतासे पर्ला नि ! अलिक राम्रो वरदान माग्नू !” कोही आफन्तले छिमेकी कान्छीलाई पशुपति जाँदा बाटोको भेटमा खैगरेको ! (कान्छीको मुहारमा बेतमासको झट्का पढ्न सकिन्थ्यो ।)

साउन यानि श्रावण एक आयो, बत्तीस गयो । प्रत्येक वर्ष यो महिनाले जेठलाई विदा गरेकै हो र भदौलाई डाकेकै हो । यसपाली पनि त्यस्तै भयो । र भयो केही थप चहलपहल । चहलपहल थियो लुतो फाल्ने र सिमेभूमे पन्साउने अनि गर्मिला भैकन तागतिला रहने खानेकुरा भोजन गर्ने । स्नान, साजसज्जा आदि सामाजिकताले बोकेका सांस्कृतिक रीतिमा पर्ने हरियो-पहेँलो चुराको, रमणीय बुट्टे मेहन्दी पोतको, शिव उपासनाको र जलार्पणको कुरा उत्तिकै जमेको पाइयो । थप कृत्यमा रहे सर्वत्र सञ्चालित नित्य तथा विशेष पूजापाठ र वैश्विक अनुश्ठान कोटिहोम । दशैँको निम्तो दर्शाउने झल्कोमा सूर्यज्योति यदाकदा छर्दै समग्रमा साउन स्मरणीय रहेको धेरैको ठम्याइ यहाँको मिमांसामा राखिएको छ ।

भन्नैपर्दा, शक पात्रोको पाचौँ तथा विक्रम पात्रोको चौथो महिना हो साउन । प्राय: ३२ दिनको रहने यो महिना आराध्यदेव आदिपरमेश्वर शिवको प्रिय मास मानिन्छ र यसमा पर्ने सोमबार शिवको उपासनाको र मङ्गलबार मङ्गल गौरीको विशेष दिनका रूपमा पार्वतीको ध्यानपूजन गर्नेगरी स्थापित छ । ठेउके ज्ञान भएका प्राय:ले यस्तो विशेष अवसरलाई महिलाले मात्रै अनुसरण गर्ने र पुरुष नै वाञ्छनीय पारेर निश्चित वरदान याचन गर्ने भनेर ढोल पिट्ने क्रमले बजार तताउने गरिएको छ । चुरो कुरो बोल्ने र सुनेका कुराको उचित विरेचन गर्ने मानिसको खडेरी परेर हो वा कसैको हण्डी खाएर अनेकन अफवाह फैलाउनेहरू हावी हुँदै गएका हुन् अध्ययन गर्नै पर्ने बुझिन्छ । कतिपय पुरुष पनि व्रत बस्नेगरेका छन् र महिलाकै हकमा पनि स्वास्थ्यकामना, धनचाहना, खुशी, मित्रसुख, सफलता आदि अनेकन सत्यता ओझेल पार्ने क्रम उपक्रम जारी छ । आशा गरौँ धर्मान्तरणको चाहले डाह गर्नेहरू पनि कुनै न कुनै धर्ममै रहँदा छन् र लाभ समूहमा रहने गरेको अवस्था बताइन्छ । नास्तिकताको नाटक मञ्चन उत्तिकै प्रखर चलिआएको बिर्सन सकिँदैन पनि । स्वपनमा रमाउने अधिकार धर्मभित्र पनि छ भन्ने सबैमा ज्ञान हुनुपर्ने हुँदा एक्का दुई जातविशेषलाई जोडेर जथाभावी विद्वेश फैलाउन खोज्ने र सद्भावना भाँड्न उद्यत सबै मतियार र हतियारविरुद्ध सावधानी आह्वान गरिनै पर्छ ।

धार्मिक मान्यताका साथै सांस्कारिक अनि पर्यावरणीय व्यवहारिकताका कसीमा यस विशेष महिनाको उल्लेख गरिनु वाञ्छनीय मानिएला नै । वर्षा ॠतु र कृषिकर्मको तादात्म्य रहने सत्यता र साउनको वर्षाले असार मासताका रोपेको धान तथा अन्य बालीमा उर्जा भर्ने हुनाले समयको महिमा गाउनु जैविकभूगोलीय प्रणालीको आवस्यकता हुनेगर्दछ । साउनको पानी छल्ने पुरानो चलनले के बताउँछ आज धेरैले बिर्सिन खोजे पनि झमझम पर्ने साउनको पानीले हरियाली बरकरार राख्ने यथार्थ सर्वजनीत छ । झरीले बाढी नल्याए बालीनालीले पाउने मनसुनी पौष्टिक जलबारे सायदै अन्यथा टिप्पणी गरिएला । साउने पानीले लपक्क भिजेको ज्यानले धानबालीमा झार गोढेको बेग्लै सौन्दर्य वचनको कुरा हुनसक्छ पनि । भिजिहाले र सोही कारण सर्दीमर्की लागे क्वाँटीजन्य खाना ग्रहण गर्ने संस्कार चाहेर पनि हामी कसैले बिर्सने कुरा होइन ।

स्मरण रहोस् –

  • १. साउने सग्राँती (सक्राती, सकरात, सङ्क्रान्ति)का बिहान कतिपयले नबोली नदीस्नान गर्ने चलन छ ।
    २. सूर्यको उत्तरायण यात्रा फलदायी रहोस् भनी कर्कटसङ्क्रान्तिमा शुद्ध भै सूर्यको पूजाअर्चनाको संस्कार अद्यपि लोकप्रिय छ ।
    ३. दिनमा खेतबारीमा काम गर्ने तथा मसलेदार वा मिष्टान्न खाना खाने परम्परा अद्वितीय छ ।
    ४. हिलो खेतबारीमा फोहोर उछ्रिने डरले खुट्टामा रङ्ग पोतेर काम गर्ने अनि साँझमा लुतो फाल्ने र राँको बालेर भूत भगाउने उपक्रम सामान्य छ ।
    ५. सोमबार विशेषत: नजिकैको स्वच्छ नदी तथा जलाशयबाट पानी लिएर शिवालयमा अर्पण गर्ने प्रचलन उल्लेखनीय छ ।
    ६. अरू बेला गणेश विनायकको स्मरण एवम् पूजन् गरिने भएतापनि साउनमा पार्वतीसमेतको विशेष दिन मनाउने यथार्थ छ ।

यसरी सर्सर्ती हेर्दा पनि के बुझिन्छ भने साउन धर्मको, संस्कारको, मनोविज्ञानको, कृषिकर्मको र पर्यावरणको एउटा साङ्गो महिना हो । यस्तो खास प्रकृतिको समयसन्दर्भलाई अन्यथा टिप्पणी कतै कसै नहोस् । श्रावण अर्थात् साउनको जय होस् अनि यो ओल्के पर्वसहित चलिरहेको भदौको पनि वर्णन सय होस्, शुभकामना !

यति कुरा भैसकेपछि आसन्न तीज र यसमा जोडिने संस्कारबारे केही थपनी राख्नै पर्ने बुझाइ छ । कतिपयले भनेको सुनिन्छ, साउनको सोमबारमा जस्तै तीजमा व्रत बस्नेले अविवाहिता भए राम्रो वर माग्ने र विवाहित भए श्रीमानको सुदीर्घ भव्य जीवनको कामना गर्ने ! पतिवियोगमा रहेकाले पनि यस्तो व्रत बस्ने चलनबारे अन्यथा सोच्लान् पनि । मानवीय समवेदना हराएका र आपसी सद्भाव नबुझ्ने कति समधर्मी नै जथाभावी राय छर्दै हिँडेका त कतिपय विधर्मीहरू सुलसुले बनेर विलोम प्रचारबाजीमा रहेको भनिन्छ । यसउसले अबुझ अनि आस्थातश्करले यो पनि बुझ्न जरुरी छ कि व्रत स्वास्थ्यमेलको एक कोसेढुङ्गो हुनसक्छ, आफ्नो आस्थागत संस्कार अविच्छिन्न राख्ने कडी हुनसक्छ अनि सामाजिकीकरणको एक सोपान । बोल्न नपर्ने कतिपय सन्दर्भमा अन्यथा नबोले सामाजिक सद्भाव दर्बिलो हुँदैजाने सम्बन्धित सबैमा जानकारी निवेदन दोहोर्याइन्छ ।

पुनश्च: तीजको गीत कस्तो, दर कति दिन खाने, पर्व विकृतिमा पर्दैजाने कुराका पनि कुरा होलान् । बिहेमा कतिवटा भोज गर्नथालिएको !? देखासिकीले समाज कता लगिदै छ ? अन्यान्य विषय नि छन् नै । मेहन्दीको कुरो पुन: यहाँ छ । खुट्टामा रङ्ग पोत्नेले हातमा तिउरी र मेहन्दीको पत्ता मिचेर लाउने गरेका प्रशस्त प्रमाण सुनीसुनाइमा छन् । ओल्के लिनेदिने विपद् बिर्सेंर रमाउने र भदौ एक गतेसमेतमा मेहन्दी लाउने पूर्वपश्चिम चलन छ नै । मिथिलाकलाबाट विश्वबजार पुगेको टाटु आस्था र चर्मसुरक्षा दुवै दृष्‍टिले प्रचलित थियो र छ भन्दा अत्युक्ति नमानियोस् पनि । हरियो चुरा कताबाट आयो, कसले बनाउँछ आदि अनर्गल प्रश्न तेर्स्याउनेले प्रकृति र जैविक एकता सम्झिए पुग्ने बताइन्छ । देशको भूबनोट र छिमेकी प्रभावलाई नै जोडेर अपव्याख्या गर्ने हो भने एउटा कुरो नत्र उत्तरपूर्व चिनसित र दक्षिणपश्चिम भारतसित केही जीवनशैलीमा समान विशेषता साझा गर्नेगरेको यथार्थ छ । प्रष्ट रहोस्, कति जनस्तरका सम्बन्धले पनि संस्कार साझा गर्ने भनिन्छ ।

ईलामलगायतका पूर्वी क्षेत्रमा प्रयोग गरिने भाषा दार्जिलिङतिरको जस्तो लागेको, पूर्वी तराईका खाना बङ्गाली पाराका हुन् कि जस्ता, मध्य मधेशले बिहारसित कपडा साट्दै छ कि जस्तो अनि दार्चुलातिरको जस्तो देउडा भाका कुमाउतिर पनि सुनिँदै होझैँका अवस्था सर्वविदितै रहेको छ । त्यसरी, कतिको भेषभुषा चिनसित जोडिने मङ्गोलिया, भियतनाम आदि तिरका जस्ता केही न कतै मिल्दाजुल्दा लाग्लान् भने भारतसित जोडिनेका स्वयम् भारत र यससित जोडिने श्रीलङ्का तथा पाकिस्तानतिरका जस्ता । कुरा मौलिकताको हो, स्वपनको हो र समझको हो । मानवीय विकास र सामाजिक यथार्थ बुझेर वैमनस्य कमगर्दै जान र आपसी समझदारीले सद्भाव अनुसरण गर्न ढिला गर्ननहुने बताउने गरिएको मननीय छ ।

हिंसा गरिनु हुन्न । यो सबैको साझा भनाइ हो । गढीमाईमा पशुबलीको जुन घटना हुन्छ त्यस्तो नभैदिए हुने धेरैको आशा पनि छ । तर पशु अधिकारको कुरा चल्दा लण्डनको साल्मनशोषण र न्युयोर्कको ओक्टोपसदोहन चर्चामा ल्याइन्न न काबुलको बक्री हलालकै प्रसङ्ग जोडिन्छ । अन्यथा टिप्पणी गर्नेले यो बुझ्न जरुरी छ कि इन्डोनेसियाका टोरोजाबासी अधिकांश भैँसी काटेर आफ्ना दिवंगत ईष्ट जो सम्झने गर्छन् उनीहरूजस्ता कयन् अरू व्यक्ति तथा सञ्जाल निजका दाताकै सम्प्रदायका हुनेगरेका छन् । फेरि वैदिक सनातनी हिन्दूमा साकाहारी अधिक भएकोबारे टिप्पणीमा नल्याइने गरिएको तथा पशुअधिकारमा पञ्छी अनि अन्य कीट पर्नुपर्ने हो वा होइन चासोकै रूपमा हेर्नेगरिएको छ ।

तर्क जेजो हुन्, समधर्मी सम्प्रदाय वा खेमामा सामाञ्जस्य जरुरी छ र अन्तरधार्मिक समूहमा सद्भाव । आफ्नो कमजोरी हटाउँदै गए र अरूका राम्रा जीवन्त पक्षको सम्मान गर्दैरहे वैश्विक एकता, शान्ति र विकासमा टेवा मिल्दै जाने कुरामा दुई मत नहुने विश्वास प्रक्षेपित छ ।

आसन्न तीजको उचित तजबीज हुने कुरामा हेक्का पुर्याइनेछ भन्दै सम्बन्धित सबैमा अग्रिम शुभकामनासहित नमस्कार । अस्तु !

  • अध्यापक, नारायण नेपाल साहित्य, सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन्

प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com