हालै रहस्यमय तवरले भएको हेलीकोप्टर दुर्घटनामा परी मृत्‍युवरण गरेका ईरानका राष्ट्रपति इब्राहिम रइसीको समाधिस्थ गराउने यानि अन्तिम विश्राम गराउने काम सकिएको छ । ईरानको मशहदस्थित बहुप्रतिष्ठित समाधिस्थलमा विशेष राजकीय सम्मानका साथ उक्त कार्य सम्पन्न गरिएको छ । तत्कालीन राष्ट्रपति रइसीसहित विदेशमन्त्री र अन्य सात जनाको ज्यानगएको घटनाको दु:खमा ईरानमा पाँचदिने राष्ट्रिय शोक घोषणा गरिएको थियो ।

रइसीको निधन कहिले भयो ?
गत आइतबार ईरान-अजरबैजानको सीमानजीकको एक जलविद्युत प्रायोजनको लागि निर्माण गरिने बाँधको उद्घाटन गरेर फर्कने क्रममा पहाडी क्षेत्रमाथिको कुहिरोमा परी इस्लामिक गणतन्त्र ईरानका राष्ट्रपति डा. सैयद इब्राहिम राइसीचढेको विमान वरजेघनमा खसेको थियो । २०२४ मे १९ यसरी ईरानको शासकीय इतिहासमा एक कहालीलाग्दो दिनको रूपमा दर्ज भएको छ ।

मध्यपूर्वको एक खम्बाका हैसियत राख्ने रइसी को थिए ?
एक मौलवीको पुत्रका रूपमा उत्तर पूर्वी ईरानको मशहदमा १९६० ताका रइसीको जन्म भएको भनिएको छ । धर्म अनि कानूनका ज्ञाताका रूपमा रइसीको रवाफ माथिल्लै स्तरको मानिएको थियो । ईरानका न्यायिक निकायमा रहेर लामो समय काम गरेका उनी सन् २०२१ देखि भने देशका सर्वोच्च धार्मिक नेता आयातुल्ला खमिनीका नजिकी पात्रका रूपमा सहज सत्ताप्राप्तीले राष्ट्रपति बनेका थिए ।

रइसीको निधन दुर्घटना थियो कि कुनै षड्यन्त्र ?
उनको निधनको कारण स्वभाविक दुर्घटना थियो कि कुनै षड्यन्त्र भन्ने बढ्दो चासोले के सङ्केत गर्छ भने रइसीको निधन हेलीकोप्टरको स्वभाविक दुर्घटनाभन्दा पश्चिमा देशले षड्यन्त्रपूर्वक यस्तो घटना अञ्जाम दिएको बुझाउने भाष्य दर्बिलो बन्दै गएको छ । टर्कीको खोजी समूहले लगभग पुरा जलेको भेटिएको उक्त हवाइ यन्त्रको उचाइ तथा दूरी सङ्केत गर्ने संयन्त्र ट्रान्स्पोण्डर कि त नभएको कि त अफ गरिएको हुनसक्ने बताएको छ भने कतिपयद्वारा केही युद्धपिपासु पश्चिमाहरूद्वारा अन्तरिक्षबाट विकिरण आक्रमण गरि-गराइ ज्यानलिनेजस्तो जघन्य अपराध गरेको सन्देह प्रक्षेपण गरिएको छ । विभिन्न तप्काबाट अनुसन्धान जारी रहेको भनिएको छ । कतिले भने धेरै पुरानो यन्त्र भएको र पश्चिमी नाकाबन्दीका कारण बेलामा मर्मतसम्भार गर्न नसकिएको यन्त्रले बाक्लो कुहिरो छल्न उचाइ लिन नसक्दा दुर्घटना हुनपुगेको अनुमानसमेत गरेका छन् ।

रइसीको निधनको प्रतिकृयामा कस-कसले के भने ?
रसिया, चाइना तथा अधिकांश ईस्लामिक देशले दु:ख व्यक्त गरेका छन् । ती देशले आवश्यक सहयोगको वचन बाँडेका छन् । नेपालले पनि आधिकारिक तवरले नै समवेदना साटेको अवस्था छ । यसैगरी ईरानको हितैषी मिलिसिया समूह (जस्तो हमास, हिज्बुल्ला आदि)ले सहानुभूति सम्प्रेषण गरेका छन् । व्यापारिक प्रतिबन्धका नाइके पश्चिमा देश र तिनका नजिकी समूहले भने मृत्‍युको अन्यथा टिप्पणी गरी गराइ विरोधी खेमा उक्साइ जथाभावी राजनीतिक द्वेश साँधेको बुझिएको छ । अधिकारमा रहेकाहरू प्राय शक्ति र सम्पत्तिका आडमा हिंसात्मक रहने गरेबाट प्रजातन्त्र तथा मानवअधिकारका नारामा जथाभावी गर्ने सूत्रहरू सबै उस्तै हुने मान्नेहरूको ठम्याइमा गुट-उपगुटमा एकले अर्कोलाई उचाल्ने खसाल्ने गरेपनि युद्ध कसैको प्रिय नहुने र मृत्‍यु मजाकको बिषय बनाइनु नहुने तर्क रहनेगरेको छ ।

रइसीको निधन भएपछि अब ईरानमा के हुन्छ ?
ईरानको विद्यमान कानूनअनुसार बहालवाला राष्ट्रपतिको निधन भएमा खमीनीका सहमतिमा शीर्ष स्थानका उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने व्यवस्था रहेको बुझिन्छ । सोही व्यवस्थाका आधारमा तत्कालिन उपराष्ट्रपति मोख्बर राष्ट्रपतिको पदभारमा आएका छन् । अब मोख्बरको सरकारले ५० दिनभित्र राष्ट्रपतिको चुनाव गराउने छ र सत्ता हस्तान्तरण गर्नेछ ।

पृष्‍ठभूमि जेजस्तो भएपनि निजको धर्मसंस्कार र राष्ट्रिय सुरक्षाका लागि डटेर लड्नसक्ने एक हाकी नेताको निधनमा हाम्रो पनि समवेदना छ, र सम्पूर्ण शान्तिको कामना !

  • अध्यापक, नारायण नेपाल समसामयिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउँछन्।

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com